काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा स्थायी शान्ति कायम गर्न २१ बुँदे योजना सार्वजनिक गरेका छन्।
वाशिङ्टनले अगाडि सारेको यो प्रस्ताव संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलगायत प्रमुख अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग साझा गरिएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार, प्रस्तावलाई नेताहरूले सतर्क आशावादसहित स्वागत गरेका छन्। धेरैले गाजामा इजरायली आक्रमण अन्त्य गर्न र कब्जा गर्ने प्रयास रोक्न आह्वान गरेका छन्।
ट्रम्प प्रशासनका मध्यपूर्व दूत स्टिभ विटकोफले भनेका छन्, ‘कि यो प्रस्ताव इजरायल मात्र होइन, समग्र क्षेत्रीय चासोहरू सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो।’
प्रस्ताव अनुसार, गाजामा स्थायी युद्धविराम लागू गरिने, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरू रिहा गरिने, इजरायली सेना फिर्ता गरिने र मानवीय सहायता आपूर्ति हुने व्यवस्था गरिनेछ।
महत्वपूर्ण कुरा के छ भने, प्रस्तावमा हमासलाई गाजाको भावी शासन संरचनामा समावेश गरिएको छैन। अमेरिकाले गाजाका लागि नयाँ राजनीतिक र प्रशासनिक संरचना प्रस्ताव गरेको छ, जसमा हमासको कुनै भूमिका रहने छैन। सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको युद्धमा इजरायलले हमासलाई समाप्त गर्ने घोषणा गरिसकेको छ।
प्रस्तावमा प्यालेस्टिनी प्राधिकरणलाई सुधार गरेर केही भूमिका दिने र क्षेत्रीय मुलुकहरूको आर्थिक सहयोगमा नयाँ सुरक्षा बल गठन गर्ने भनिएको छ। यो बलले गाजाको पुनर्निर्माण र प्रशासनमा सहयोग गर्नेछ।
ट्रम्पका ज्वाइँ जारेड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले अघिका महिनामा राखेका प्रस्तावहरूभन्दा यो योजना फरक भएको बताइएको छ।
त्यसैगरी, अरब र मुस्लिम नेताहरूले पश्चिम किनाराको भूभाग कब्जा नगर्ने, जेरुसेलमका पवित्र स्थलहरूको कानुनी र ऐतिहासिक स्थिति नबदलिने र गाजावासीहरूको जबर्जस्ती विस्थापन नहुने ग्यारेन्टी माग गरेका छन्। उनीहरूले गाजाबाट इजरायली फौजको फिर्ती र पुनःस्थापनामा कुनै अवरोध नहुने सुनिश्चितता पनि माग गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार ट्रम्पले नेताहरूलाई इजरायललाई पश्चिम किनाराको कुनै भाग कब्जा गर्न अनुमति नदिने स्पष्ट आश्वासन पनि दिएका छन्।
यो प्रस्तावले क्षेत्रीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। यद्यपि गाजामा शान्ति ल्याउने यो पहल कार्यान्वयनसम्म पुग्न सक्ने हो वा होइन भन्नेमा अझै धेरै चुनौतीहरू बाँकी छन्।
FACEBOOK COMMENTS