काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकभर भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राखी आम नागरिकलाई उच्च सजगता अपनाउन अपिल गरेको छ ।
पार्टीका केन्द्रीय कार्यालयका सभापति डोलप्रसाद अर्यालले आज जारी गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका केही क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको र यसबाट बाढी, पहिरो, र डुबानजस्ता विपद्का घटना बढ्न सक्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, विपद्बाट हुनसक्ने जनधनको क्षतिबाट जोगिनका लागि सबै नागरिकले सरकारी तथा स्थानीय निकायहरूले जारी गरेका सूचना र निर्देशनहरूको पालना गर्नुपर्छ । सुरक्षित स्थानमा रहन: नदी/खोला क्षेत्र वरपरका बासिन्दा तथा जोखिमयुक्त स्थल मार्गमा यात्रा गर्ने सम्पूर्ण यात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
पार्टी संरचनालाई सक्रिय बनाउने: विपद्को बेला मानव सेवा र सहयोगमा जुट्नु सबैको कर्तव्य हो भन्दै रास्वपाले केन्द्रीय, प्रादेशिक, जिल्ला र पालिका तहसम्मका द्रुत कार्य समूह सहित पार्टीका सम्पूर्ण तह,
विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई विपद्को न्यूनीकरण, क्षति न्यूनीकरण, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यक्रमहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आपत्कालीन सहयोगका लागि तयार रहन निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS