काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले मुलुकमा भएका १८ लाख व्यापारीमध्ये ६ लाख व्यापारी कालोसूचीमा परेको बताएका छन् ।
आज आइतबार विशेष पत्रकार सम्मेलन गर्दै उनले धेरै भन्दा धेरै व्यापारीहरू कालोसूचीमा रहेका कारण बैंकमा रहेको पैसा लगानी नभएकोसमेत बताएका हुन् ।
‘मैले पहिलादेखि नै मैले भन्दै आएको हुँ बैंकको लगानी गर्ने ठाउँ छैन कहाँ लगानी गर्ने ? १८ लाख व्यापारीमध्ये ६ लाख त कालोसूचीमै छन् कल्ले पैसा लिने ?,’ छठपछि गर्ने भनिएको आन्दोलनको औचित्य पुष्टि गर्ने प्रयास गर्दै उनले भने, ‘त्यसकारण यो सबै अवस्थालाई ‘रि–स्ट्रक्चर’ गर्नका लागि पनि यो आन्दोलनको जरुरी छ र व्यवस्था परिवर्तन गर्नका लागि हामी लाग्न जरुरी छ ।’
उनले आफू मागीखाने मान्छे नभएको पनि स्पष्ट गरेका छन् । ‘एक रुपैयाँको ‘डलर’बाट आज यो एम्पायर खडा गरेर बसेको मान्छे हुँ म । यो आन्दोलन सुरू गर्दैगर्दा मलाई बैंकको व्याज नतिर्नलाई भनेर आरोप लगाइयो । तर, म गर्वका साथ भन्छु नेपालको इतिहासमा ‘सक्सेसफुल’ व्यवसायी हुँ म । आफूलाई व्यापारी वा व्यवसायी केही पनि भन्दिनँ ।’
यद्यपि उनले अहिले आन्दोलनको मिति तोकिनसकेको र अबको केही दिनभित्र तोक्ने बताए । ‘हामीले डेटलाइन तोकेका छैनौँ यो दिन गर्ने भनेर । अब १० दिनभित्र त्यो समय पनि तोक्छौँ र आन्दोलन हुन्छ र शान्तिपूर्ण हुन्छ तपाइँहरू ढुक्क हुनुहोस्,’ प्रसाईँले भने ।

FACEBOOK COMMENTS