सडक सुरक्षाका क्षेत्रमा युवाको सक्रिय सहभागिता र नेतृत्व विकास गर्ने उद्देश्यका साथ सुदूरपश्चिममा “युथ फर रोड सेफ्टी” कार्यक्रम यसै कार्तिक १५ धनगढीबाट सुरुवात भएको छ ।
भोइस अफ थ फर सेफ एण्ड सस्टेनेभलम मोविलिटिको अन्तर्गतको पहिलो सुदुर पश्चिम स्तिरिय कार्यक्रममा युवा अभियानकर्मी, राइडर्स, खेलाडीहरु, व्यवसायी र इन्जिनियरिङ, म्यानेजमेन्ट र पर्यटनका विद्यार्थीलगायत करिब ६० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रम सुदूरपश्चिम प्रदेश युवा परिषद् र प्रदेश खेलकुद परिषद्सँगको समन्वयमा र नेपाल अटोमोवाइल्स एसोसिएसनको सहयोगमा सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनले आयोजना गरेको होे ।
सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनलका अध्यक्ष पुष्कर ओझाको अध्यक्षतामा भएको त्यस कार्यक्रममा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सचिव लालबहादुर खड्काले संयुक्त शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द, कराते महासंघ, सुदुरपश्चिमका अध्यक्ष त्रिलोक पाण्डे लगायत विभिन्न क्षेत्रका बक्ताहरूको सहभागिता थियो । युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले ‘सडक सुरक्षामा युवाको आवाजको आवश्यकता र महत्व’ विषयमा प्रस्तुति दिंदै सुदूरपश्चिम प्रदेशको सडक सुरक्षाको अवस्था, युवाको भूमिका, नेतृत्व र सरकारी निकायबीचको सहकार्यबारे विस्तृत रुपमा जानकारी दिनुभएको थियो ।

नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा नेपाल) का उपाध्यक्ष अनिल बरालले मोटरस्पोट्र्स र सडक सुरक्षा विषयमा प्रस्तुति दिंदै खेलाडी र युवा समुदायको सहभागिता बिना सडक सुरक्षाको सुधार सम्भव नहुने बताउनुभयो ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदले युवालाई परिचालन गरी प्रदेशको सडक सुरक्षामा योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै नासा नेपालसँग सहकार्यका लागि तत्पर रहेको बताउनुभयो ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लालबहादुर खड्काले “खेलाडीमार्फत सडक सुरक्षाको अभियान अत्यन्तै महत्वपूर्ण कार्य हो” भन्दै युथ फर रोड सेफ्टी इन नेपालको अभियानसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस कार्यक्रमको अन्त्यमा सहभागी युवाबीच ‘सडक सुरक्षाको वर्किङ ग्रुप’ गठन गरिएको छ, जसले आगामी दिनमा सुदूर पश्चिमभर सुरक्षित यात्राको अभियान सञ्चालन गर्ने योजना बनाएको छ । स्टार रेटिङ्ग स्कुल, रोड सेफ्टी मोटिभेटर ट्रेनिङ्ग, अनलाइन रोड सेफ्टी कोर्स तथा सम्बन्धित निती निमार्णमा लबिङ्ग लगायतमा सो वर्किङ ग्रुपका संयोजक त्रिलोक पाण्डेले प्रतिवद्धता जनाउनु भएको छ ।

यामाहा रेसिङ्ग नेपालको सहयोगमा, नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सहजीकरण गर्नुभएका सो कार्यक्रममा सुदूरपश्चिमका ८ जिल्ला र कर्णाली प्रदेशका समेत युवाहरुको सहभागीता थियो ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए) को सेफ एण्ड सस्टेनेबल मोविलिटि सहयोग परियोजना अन्तर्गतको यस किसिमको कार्यक्रमा एफआइए फाउण्डेसन, नासा फाउण्डेसन र मोटरिङ्ग नेपालको सहकार्यमा देशभी संचालन भइरहेका छन् ।
FACEBOOK COMMENTS