काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने इम्पेरमेन्ट चार्ज बढेको छ । जसमा कारण बैंकको नाफा घटेको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेको छ भने फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेको छ ।
बैंकको सञ्चालन नाफा १०.८४ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ४५ करोड ७७ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज अहिले ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.८६ रुपैयाँले घटेर २५.९७ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ छ । बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

FACEBOOK COMMENTS