काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको चर्चा गर्दै उक्त असन्तुलन घटाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन् ।
अध्यक्ष अग्रवालले भने, ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन ।’ बंगलादेश, भूटान, भारत र नेपाल ( बीबीआईएन) बीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिनेमा उनको जोड छ ।
अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आग्रह गरे ।

चेम्बर पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको उनको भनाइ छ ।

दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको राजदूत रहमानले उल्लेख गरे ।

FACEBOOK COMMENTS