काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमाथिको आक्रमण रोक्न सरकारले विशेष प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।
आज शनिवार महासंघले काठमाडौंमा आयोजना गरेको ’राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा बोल्दै उनले जेन जी आन्दोलनपछि मुलुक आशा र संशयको दोबाटोमा उभिएको तथा निजी क्षेत्र खरानी टकटकाउँदै जुर्मुराउने प्रयत्नमा रहेको बताए । उनले यस्तोमा निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिका लागि विशेष प्रस्तावको आवश्यकता औंल्याएका हुन् ।
उनले जेन जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले निजी क्षेत्रले इतिहासकै सबैभन्दा धेरै क्षति व्यहोरेको बताए । उद्योग वाणिज्य महासंघले गरेको प्रारम्भिक मूल्यांकनअनुसार निजी क्षेत्रले ८८ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति व्यहोरेको उनले जानकारी दिए ।
निजी क्षेत्रले नाफाभन्दा बढी सेवा दिइरहेको तथा रोजगारी सिर्जनासँगै राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको अवस्थामा अर्बौंको नोक्सानी हुने गरी भएको आक्रमणले आहत बनाएको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रमाथि आक्रमण हुनुमा आफ्नो तर्फबाट कहाँ के कमजोरी भयो त्यसको आत्मसमीक्षा गरिरहेको भन्दै अगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई यथाशीघ्र कारबाहीको माग गरे ।

FACEBOOK COMMENTS