काठमाडौं । नेकपा एमालेमै फर्किएकी नेत्रृ एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा विभिन्न उद्योग व्यवसाय र व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड, लुटपाट र आगजनी गरिनु खेदजनक भएको बताएकी छिन् ।
नेकपा एमालेले आज काठमाडौंमा आयोजना गरेको ‘घर फर्क अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योग प्रतिष्ठानहरूमा गरिएको आगजनीले उद्योगी–व्यवसायीहरूको मनोबल खस्किएको र लगानीको वातावरण बिग्रिएको भन्दै आन्दोलनकारीहरूलाई कस्तो अर्थतन्त्र बनाउन खोजेको भन्दै प्रश्न गरेकी हुन् ।
‘राष्ट्रिय आकांक्षा पूरा गर्न काम गर्नुपर्छ, कामका लागि रोजगारी चाहिन्छ, रोजगारीका लागि रोजगारयोग्य वातावरण चाहिन्छ र त्यसका लागि निजी क्षेत्रले गर्ने लगानी गर्नुपर्छ,’ भदौ २३ र २४ को आन्दोलनकारीहरूलाई प्रश्न गर्दै नेत्रृ झाँक्रीले भनिन्, ‘आज व्यावसायिक प्रतिष्ठानहरूमा आगो लगाएर हामीले कस्तो अर्थतन्त्र बनाउन खोज्दैछौँ ?’

आन्दोलनपछि बनेको सरकारबाट उद्योगी–व्यवसायीले सुरक्षाको प्रत्याभूति गर्न नसकेको र युवाहरूले विदेशको स्थायी यात्राको खोजी गरिरहेको चर्चा गर्दै उनले शान्तिसुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

‘आज निजी क्षेत्रले भन्दैछ राज्यले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्दैन भने हामीले कसरी काम गर्ने ?,’ उनले भनिन्, ‘आज सयौँ दक्ष युवाुवतीले अन्य देशको पर्मानेन्ट पासपोर्ट सर्च गरिरहेका छन्, यो देशमा बस्न सकिदैन भनेर । यो त्यस्तो एउटा भवितव्य हो अनप्रेडिक्टेबल । जे अवस्था सृजना भयो त्यो दुई दिनको मात्र थिएन । यसका पछाडि लामो समयको प्रयास थियो भन्ने कुरा जियो पोलिटिक्सका ज्ञाताहरूले भनिरहनुभएको छ ।’

FACEBOOK COMMENTS