काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पार्टी निर्माणको प्रक्रियामा रहेकाले आयोगमा बुझाइएको संरचना अन्तिम नभएको स्पष्ट गरेको छ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको बताउँदै विधा बमोजिमको संरचना बनाउन बाँकी नै रहेको स्पष्ट गरेको हो ।
नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझाएको सदस्यहरूको सूचीबारे विवाद भएपछि प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।
पार्टी संयोजक र सह–संयोजकबाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने र यसका लागि गृहकार्य भइरहेको उल्लेख गर्दै सचिवालयले एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना समेत यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने बताएको छ ।
साथै, कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको र यो कुनै अलग संरचना नभएको सचिवालयले स्पष्ट पारेको छ ।

सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने सूचना निर्वाचन आयोगले जारी गरेको र दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध गरेको छ ।

FACEBOOK COMMENTS