काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अमेरिकी अलराउन्डर हर्मित सिंहले आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेकोकाठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा १४७ रनमा अलआउट भयो ।
खराब सुरूवात गरेको सुदूपश्चिमका लागि हर्मितले १९ बलमै अर्धशतक पूरा गरेका थिए ।
अर्धशतक प्रहार गरे लगत्तै आउट भएका हर्मितले २ चौका र ६ छक्का प्रहार गरे ।
त्यसअघि हर्मितले ४९ रनमा जीवनदान पाएका थिए । १८औं ओभरको अन्तिम बलमा काठमाडौंका रशिद खानविरूद्धको उनको प्रहार आकासिँदा भीम सार्कीले क्याच छाडेका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले हर्मितसँग सातौं विकेटका लागि ४.१ ओभरमा ६१ रनको साझेदारी गरेका थिए । यहि साझेदारी सुदूरपश्चिमका लागि महत्वपूर्ण सावित भयो । दीपेन्द्रले १८औं ओभरमा आउट हुनुअघि ३० बलमा ३९ रनको योगदान गरे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि पहिलो ओभरमै काठमाडौंका कप्तान करण केसीले दुई विकेट लिएपछि सुदूरपश्चिम सुरूमै दबाबमा पर्यो । दोस्रो बलमा अस्ट्रेलियन ब्याटर जोश ब्राउनलाई करणले शून्यमा एलबिडब्लूको धरापमा फारे ।

ओभरको अन्तिम बलमा विनोद भण्डारी पनि भीम सार्कीबाट समातिए । तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई दुई रनमा मिलिन्द कुमारबाट क्याच गराए । त्यसपछि इशान पाण्डेलाई मिलिन्द कुमारले पावरप्लेको अन्तिम बलमा ११ रनमा आउट गरे ।

पावरप्लेमा सुदुरपश्चिमले चार विकेट गुमाउँदा २७ रन मात्र जोडेको थियो । लगातार विकेट गुमाएको सुदूरपश्चिमका नरेश साउदले १२ बलमा ६ रन मात्र जोड्न सके । पहिलो दुई ओभरमा दुई रन खर्चिएर तीन विकेट लिएका करणले १७औं ओभरमा आफ्नो तेस्रो स्पेल गरेका थिए । तर यो ओभरमा उनले २४ रन खर्चिएका थिए ।

करणलाई सुदूरपश्चिमका अमेरिकी ब्याटर हर्मित सिंहले पहिलो बलमा चौका प्रहार गर्दा त्यसपछि लगातार तीन छक्का हिर्काएका थिए ।
अघिल्लो ओभरमा हर्मितले मिलिन्दकुमारविरूद्ध पनि तीन छक्का प्रहार गर्दा सुदूरपश्चिमलाई निकै राहत भएको थियो ।
बलिङमा काठमाडौंका करण केसीले ४ विकेट लिए । रशिद खान, मिलिन्द कुमार र सनी पटेलले २–२ विकेट लिए ।
FACEBOOK COMMENTS