काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचमा एकता हुने निर्णय भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेनसहितको तस्बीर शेयर गर्दै एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् । लामो समयदेखि राप्रपा र राप्रपा नेपालबीच एकताको प्रयास अन्तत: टुंगो लागेको छ ।
२- निर्वाचन आयोगले ६ राजनीतिक दल खारेज गरेको छ । आयोगले मंगलबारको निर्णय बमोजिम राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम जरिवाना नबुझाउने ६ राजनीतिक दल खारेज गरेको प्रवक्ता नारायण प्रसाद भट्टराई जानकारी दिएका छन् ।
खारेज हुने दलमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन् ।
३- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वडा र क्षेत्रको अधिवेशनपछि महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले महाधिवेशनको कार्यतालिकाका विषयमा नयाँ प्रस्ताव राख्दै वडा र क्षेत्रको अधिवेशनपछि सिधै महाधिवेशन गर्न प्रस्ताव गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका हुन् ।

महामन्त्री थापाको प्रस्ताव छलफलमै रहेको र व्यावहारिक कार्यान्वयन गर्न नसकिने गरि प्रस्ताव पारित नगर्न सुझाव आएको महतले बताए । नेताहरुले बोल्नेक्रम जारी रहेकोले महाधिवेशनको विषय र राष्ट्रिय सभाको उम्मेदवार तथा प्रतिनिधि सभाको समानुपातिक सूची तयार गर्ने विषयमा भोली पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिएका छन् ।

आजको बैठकपछि महामन्त्री थापाले बोल्दै महाधिवेशनको मुख्य मितिमा कुनै हेरफेर गर्न नपाइने भन्दै वडा र क्षेत्रको अधिवेशन गरेर महाधिवेशनमा जान सकिने प्रस्ताव आफुले बैठकमा राखेको बताए । साथै महामन्त्री थापाले नयाँ नेतृत्व नछानी काँग्रेस निर्वाचनमा नजाने बताउदै नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्ने स्पष्ट गरेका छन् । कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको छ ।

काँग्रेसको गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते , दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यतालिका पारित गरिएको छ । त्यस्तै केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा हुने तालिका रहेको छ ।

४- दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प चीन, फिलिपिन्स र जापानसम्म महसुस गरिएको थियो । केन्द्रीय मौसम प्रशासनका अनुसार, भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो र यसको गहिराइ ११.९ किलोमिटर रहेको थियो । ताइवानमा भूकम्पको तीव्रता १ देखि ७ को स्केलमा मापन गरिएको छ ।

ताइतुङ काउन्टीमा ५ म्याग्निच्युड रेकर्ड गरिएको थियो, जबकि हुआलियन र पिङटुङ काउन्टीहरूमा ४ म्याग्निच्युड महसुस गरिएको थियो । राष्ट्रिय अग्नि नियन्त्रक निकायले ताइवानमा कुनै क्षतिको रिपोर्ट दिएको छैन । ताइवानी चिप निर्माता टीएसएमसीले भूकम्पले आफ्ना कारखानाहरू खाली गर्न आवश्यक पर्ने गरी गम्भीर नभएको बताएको छ । यसअघि ताइवानमा अप्रिल ३, २०२४ मा हुआलियन क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो विगत २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो । भूकम्पले १९ जनाको मृत्यु भयो, ११ सयभन्दा बढी घाइते भएका थिए ।
५- प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने भएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल,मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले संसद विघटनविरुद्ध दायर सबै रिटहरू सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो।
कांग्रेसका ५७ तथा जनमत पार्टीकी गोमालाभ सापकोटा,अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) की हसिना खातुन,स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा दिएको पूरक निवेदनमा सर्वोच्चको संबैधानिक इजलासले सुनुवाई गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न अधिवक्ताहरु, नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरुले रिट दर्ता गराएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते चुनाव गराउन कार्की नेतृत्वको सरकारलाई कार्यादेश दिएका थिए ।
६- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउदै १० दिनको अल्टिमेटम दिएको छ । बुधबार शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउदै माग पुरा गर्न १० दिनको अल्टिमेटम दिएका हुन् । विप्लवले वर्तमान सुशिला कार्की नेतृत्वको सरकार भंग गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने तथा भदौ २३-२४ भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
७- मन्त्रीसहितको सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा अवलोकन तथा छलफल गरेको छ । सरकारी टोलीले रास्वपासँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको थियो ।
छलफलका लागि कार्यदल संयोजक तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, सुचना तथा सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनालसहितको टोली रास्वपा कार्यालय पुगेको थियो । कार्यालयमा रास्वपाका उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहले सरकारी टोलीलाई स्वागत गर्दै छलफल गरेको थियो । सरकारी टोलीले आजै जनमत पार्टी र राप्रपा कार्यालय पुगेर छलफल गरेको थियो ।
८- उर्जामन्त्री कुलमान घिसिङले चुनावको मनोनयन दर्ता गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका छन् । आफ्नो सय दिनको कार्यकालमा गरेका कामको विवरण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले मन्त्री बनेपछि आफु राजनीतिमा प्रवेश गरेको बताउदै निर्वाचनका लागि मनोनयन गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका हुन् ।
उनले भने- ‘ मन्त्रीको हैसियतमा आएपछि मैले राजनीतिमा इन्ट्री भए भनेको छ । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेको छ । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौं, मनोनयनको समय आउछ, उपयुक्त समयमा आवश्यक निर्णय गर्छौं भने पछि तपाइहरुले बुझ्नु भएको होला ।’ मन्त्री घिसिङले चुनावमा सबै नयाँ शक्तिहरु मिलेर जानुपर्छ भन्नेमा एक रहेको बताउदै आगामी चुनावपछि सहि नेतृत्व आउनका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताए । उनले आफै मात्र ठिक भनेर जान नहुने भन्दै नयाँ शक्तिहरु सबै एक ठाउमा आउनुपर्ने बताए ।
९- नेप्सेमा आजपनि सामान्य करेक्सन भएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ मा कारोबार भएको थियो । आज विकास बैंक,फाइनान्स, हाइड्रो, लगानी, जीवन वीमा, माइक्रोफाइनान्स, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज इन्फिनिटी लघुवित्तको सबै भन्दा बढी ५.३२ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी ग्रामिण विकास लघुवित्तको ४.२३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको १४ करोड ४९ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाखको कारोबार भएको छ ।
१०- जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा भएको छ । दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति गरेका छन् । जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुबै पक्षले कार्यकत एकटा घोषणा गर्दै संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति गरेका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यगत एकता घोषणापत्रमा दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलबिहीन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ । घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटिपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ ।
विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्रको अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ । मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ । साथै राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाइएको छ ।
११- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पुगेर उनकी श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ अवस्था बारे जानकारी लिएकी छन् । चित्रकार भारतको नयाँदिल्लीमा उपचारपछि सोमबार राति स्वदेश फर्किएकी थिइन् । भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने डल्लुस्थित निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो ।
सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । एपोलो अस्पतालमा उपचारको क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । चित्रकारको स्वास्थ्यमा हाल सुधार भएको छ ।
१२- रुसको राजधानी मस्कोमा आज अर्को विष्फोट भएको छ । बुधबार भएको विष्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको रुसी अधिकारीहरुले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । रुसको अनुसन्धान समितिले दुई ट्राफिक प्रहरी अधिकारीहरूले शहरको येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक ‘शंकास्पद व्यक्ति’ देखेको र जब उनीहरू उसलाई पक्राउ गर्न गएपछि विस्फोटक पदार्थ विस्फोट भएको बताएका छन् ।
गम्भीर चोटपटक लागेर दुवै प्रहरी अधिकारीको मृत्यु भएको र अर्को एक जना स्थानीयको पनि विस्फोटमा मृत्यु भएको बताइएको छ । यसअघि सोमबार राजधानी मस्कोमा भएको कार बम विस्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको थियो ।
१३- ठेक्काको सूचना प्रकाशन गर्दा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्म सडक मर्मत कालोपत्रे गर्न खरिद ठेक्का लगाउने सम्बन्धि सुचना प्रकाशित गर्दा मिलोमतो गरि सूचना प्रकाशित गरेको नदेखिएको तर अभिलेखमा सूचना प्रकाशित भएको उल्लेख गरेर अनियमिता गरेको अनुसन्धानमा देखिएको जनाएको छ । अ
ख्तियारले ६५ हजार बिगो माग गर्दै बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
१४- कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक भएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका हुन् । बैठकमा कर्णाली प्रदेशको सुरक्षा चुनौती र आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल भएको छ ।
बैठकमा गृहमन्त्री अर्यालसहित गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेका साथै महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथि गणेश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको छ । बैठकमा कर्णालीका १० वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीको सहभागिता रहको छ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा सुरक्षा समितिको बैठक भइरहेको छ ।
१५- राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा टावर बनाएर पनि नेटवर्क नआउने तर यता सञ्चारमन्त्रीले फ्री वाईफाईको गफ छुटेको कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले नेटवर्कको समस्या जुम्लाको मात्र नभएर सिंगो कर्णाली र दूरदराजको भएको भन्दै नयाँ मान्छे र नयाँ नेतृत्व आएपनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै रहेको गुनासो गरेका छन् ।
साथै उनले सञ्चारमन्त्रीलाई गफ नचुटेर टावर बनाएका ठाउमा नेटवर्क सञ्चालन गरिदिन आग्रह गरेका छन् । उनले भनेका छन्: जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन। यता सञ्चारमन्त्री फ्री वाईफाई भन्दै गफ चुट्छन् । यो समस्या जुम्लाको मात्र होइन सिंगो कर्णाली र दूरदराजको समस्या हो जुनसुकै नयाँ मान्छे र नयाँ नेतृत्व आएपनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै छ। त्यसैले भन्छु सञ्चार मन्त्रीज्यू गफ चुट्ने होइन। टावर बनाइदिएका छौं नेटवर्क सञ्चालन गरिदिनुहोस् ।
१६- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको १९ दिनमा घरेलु बक्स अफिसमा ६ सय करोड क्लबमा पुगेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार १९ दिनमा फिल्मले ६१९.३० करोड कमाई गरेको हो । तेस्रो साताको पहिलो मंगलबार फिल्मले २०.४० करोड कमाएको थियो । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो साताको पाँच दिनमा १३९.८ करोड कमाएको छ ।
फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ ।
फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१७- नेपाली बजारमा आजपनि सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो
। यसअघि मंगलबार सुन तोलाको २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४४२० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको पनि अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ४२५५ मा कारोबार भएको थियो ।
१८- भारतको सबैभन्दा ठुलो रकेट, एलभीएम ३- एम ६ को सफल प्रक्षेपण गरिएको थियो । बुधबार बिहान इसरोले एलभीएम ३- एम ६ रकेट प्रयोग गरेर ब्लूबर्ड ब्लक-२ उपग्रहलाई लो-अर्थ अर्बिटमा प्रक्षेपण गरेको हो । यो अर्को पुस्ताको सञ्चार उपग्रह हो, जसलाई विश्वभरका स्मार्टफोनहरूलाई सिधै उच्च-गतिको सेलुलर ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न डिजाइन गरिएको छ ।
यो इसरो र अमेरिकी कम्पनी एएसटी स्पेसमोबाइलबीचको व्यावसायिक सम्झौताको एक हिस्सा हो । यसले फोर जी र फाइभ जी भ्वाइस कल, भिडियो कल, सन्देश र डेटा सेवाहरू विश्वको कुनै पनि स्मार्टफोनमा उपलब्ध गराउन सक्षम बनाउनेछ भने अन्तरिक्षबाट सिधै कल गर्न सकिने छ । यद्यपि, हाल, नेभिगेसन प्रणालीहरूमा प्रभावका कारण हवाईजहाजमा हुँदा पनि कल गर्न सकिँदैन ।
६१ सय किलोग्रामको ब्लुबर्ड ब्लक-२ एलभीएम ३ रकेटद्वारा तल्लो पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी पेलोड हुनेछ । यसअघिको सबैभन्दा भारी पेलोड एलभीएम ३ सञ्चार उपग्रह ३ थियो, जसको तौल लगभग ४४ सय किलोग्राम थियो । यसलाई नोभेम्बर २०२४ मा जिटीओमा प्रक्षेपण गरिएको थियो । यसको विशाल तौलका कारण, जनता र मिडियाले इसरोको एलभीएम ३ लाई ‘बाहुबली रकेट’ उपनाम दिएका छन्, जुन लोकप्रिय फिल्म बाहुबलीबाट प्रेरित छ ।
एलभीएम ३ रकेटले पहिले दुई मिसनहरू सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ: चन्द्रयान-२, चन्द्रयान-३, र वनवेब, जसमा कुल ७२ उपग्रहहरू कक्षामा राखिएको थियो । इसरोका अनुसार, ४३.५ मिटर अग्लो एलभीएम ३ रकेट क्रायोजेनिक इन्जिनद्वारा संचालित तीन-चरणको रकेट हो । दुईवटा एस २०० ठोस बूस्टरहरूले उडान भर्नको लागि थ्रस्ट प्रदान गर्छन् ।
१९- पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को सरकारी स्वामित्व निजी कम्पनी आरिफ हबिब समूहलाई बिक्री गरिएको छ । आरिफ हबिब समूहले पीआईएलाई १३५ अर्ब पाकिस्तानी रुपैयाँ अर्थात ६९.१६ अर्ब नेपाली रुपैयाँमा अधिग्रहण गरेको छ । पाकिस्तानी सरकारले एयरलाइन्सको लागि आरिफ हबिब समूहले शुरुमा ११५ अर्ब पाकिस्तानी रुपैयाँ प्रस्ताव गरेपनि बढाएर १३५ अर्ब पुर्याएको थियो । त्यस्तै अर्को प्रतिष्पर्धी लकी सिमेन्ट समूहले १०१.५ अर्बबाट १३४ अर्बको बोली लगाएको थियो ।
दुवैले पहिलो चरणमा १०० अर्बभन्दा बढीको बोलि लगाएपछि उनीहरुलाई दोस्रो चरणमा प्रतिष्पर्धा गराइएको थियो । तेस्रो प्रस्तावक निजी एयरलाइन्स एयरब्लूले पहिलो चरणमा २६.५ अर्ब बोली लगाएको थियो । एयरलाइन्स बेच्नुको सबैभन्दा ठूलो कारण आईएमएफको नीति हो । पाकिस्तानलाई आईएमएफबाट ७ अर्ब डलरको ऋण चाहिन्छ । बदलामा, आईएमएफले पाकिस्तानमा घाटामा रहेका सरकारी कम्पनीहरूलाई निजीकरण गर्नुपर्ने शर्त रहेको छ । यस अवस्थामा, पाकिस्तानले पीआईएसहित आफ्ना २४ सरकारी कम्पनीहरूलाई निजीकरण गर्दैछ । पीआईए बेच्नुको अर्को कारण एयरलाइन्सलाई पुनर्जीवित गर्नु हो, किनकि सरकार वित्तीय अवरोधका कारण पीआईएमा लगानी गर्न असमर्थ छ ।
पीआईएको कमजोर व्यवस्थापनबाट यात्रुहरू पनि समस्यामा छन् । कराँचीमा पीआईएको एउटा विमान दुर्घटनाग्रस्त भयो, जसमा ९६ जनाको मृत्यु भयो । एक अनुसन्धानले २५० भन्दा बढी पीआईए पाइलटहरूको लाइसेन्स शंकास्पद वा नक्कली भएको पत्ता लगाएको थियो । दुर्घटनाले पीआईएको छवि धमिलो बनायो र धेरै देशहरूले पीआईए उडानहरूमा प्रतिबन्ध लगाए । प्रतिबन्धले पीआईएको घाटा निम्त्यायो, कम्पनीलाई लगभग २५ हजार करोडको ऋण लगाएको छ ।
२०- आर्सनल यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो । अब आर्सनलले सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ । सेमिफाइनलका खेल जनवरी १३-१४ र फेब्रुअरी ३-४ मा हुने छन् ।
FACEBOOK COMMENTS