काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति भदौ २४ को विध्वंशलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनस्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको बताएका छन् ।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशको राजनीति पुराना र नयाँबीच ध्रुविकृत हुन लागेको विश्लेषण भएपनि भदौ २४ को विध्वंशलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनस्थापित गर्ने भन्ने विषयमा ध्रुवीकृत हुन थालेको बताएका हुन् ।
उनले धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरुलाई किनारा लगाउन संभव नभएपछि र आफूहरुले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरुले पुनरागमन गर्ने देखेपछि विध्वंशका पक्षधरहरु एक ठाउँमा उभिन खोजिरहेको अवस्था रहेको बताए ।
उनले राजनीतिक पार्टीहरुकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुने भन्दै यतिबेला विचारविहीन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादस्पद व्यक्तिहरु एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरुलाई चुनौती दिइरहेको आरोप लगाएका छन् ।
उनले भने– ’कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरुले हेर्दा हेर्दै समस्याहरुको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ । तर न त विध्वंश आन्दोलन हो, न ’पपुलिज्म’ नै अग्रगामी विकल्प । ‘पपुलिज्म‘ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंश र यही हो सिलसिला ! थप समस्या जन्माउँदै जान्छ ।’

उनले सत्तामा जान जस्तो सुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरुले देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्ने बताए । भदौ २४ को विध्वंशको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नुपर्ने बताए ।

उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइनसकेको बताउदै लोकतन्त्र सङ्कटमा रहेको र संविधान मिचिएको अवस्थामा रहेको बैठकमा बताए ।

उनले भने– ’जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् । मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरुमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ ।’

अहिलेको अवस्थालाई चिर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरु बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी रहेकोमा जोड दिए । उनले एमालेले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताएका छन् ।
FACEBOOK COMMENTS