काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- अर्थमन्त्री रामेश्वर खनालले आम निर्वाचन फागुन २१ मै हुने बताएका छन् । नेपाली काँग्रेस विभाजित भएपछि फागुन २१ मा निर्वाचन हुन्छ या हुदैन भन्ने अन्योलता बढेका बेला अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा ‘निर्वाचन फागुन २१ मै हुन्छ !’ भनेर सबैलाई आश्वस्त पारेका छन् । नेपाली काँग्रेसको संस्थापन पक्षले दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशित गरेपछि विशेष महाधिवेशन पक्षले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गर्ने तयारी गरेको छ ।
२- महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ । महान्यायाधिवक्ताको कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता हुने भएको छ । लामिछानेले आफुविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए । यस मुद्धाका कारण लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएपनि स्वत: सांसदबाट निलम्बित हुने अवस्था रहेको थियो ।
३- राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । राष्ट्रिय सभामा काँग्रेसबाट निर्वाचित बोहराको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो । कञ्चनपुर काँग्रेसको संस्थापक नेता बोहरा प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरेका थिए । उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार पनि बनेका थिए । त्यसपछि २०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेलेका थिए ।
४- नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल बन्ने निश्चित भएको छ । विश्वप्रकाश शर्माले घिमिरेलाई महामन्त्री बनाउन आफुले नाम फिर्ता लिएपछि अब घिमिरे र पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बन्ने निश्चित भएको हो । काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्बजनिक गर्ने तयारीमा रहेको छ ।। काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन हुने निश्चित रहेको छ । त्यस्तै उपसभापतिमा फरमुल्लाह अन्सारीको उम्मेदवारी परेको छ भने सहमहामन्त्रीमा बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले नयाँ नेतृत्वको चयन सर्वसम्मत गर्न लागेकोले केहीबेरपछि नै घोषणा हुने बताइएको छ । काँग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

५- भारतले इरानको वर्तमान अवस्थालाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि इरान छोड्न आग्रह गरेको छ । तेहरानस्थित भारतीय दुताबासले परिस्थितिलाई ध्यानमा राख्दै, इरानमा रहेका भारतीय नागरिकहरू (विद्यार्थीहरू, तीर्थयात्रीहरू, व्यवसायीहरू र पर्यटकहरू) लाई व्यावसायिक उडानहरू सहित उपलब्ध सबै माध्यमबाट इरान छोड्न सल्लाह दिइएको छ । दुताबासले आफ्ना नागरिकहरुलाई विरोध प्रदर्शनस्थलहरूबाट टाढा रहन, इरानस्थित भारतीय दूतावाससँग सम्पर्क कायम राख्न र कुनै पनि घटनाक्रमको निगरानी गर्न आग्रह गरेको छ । इरानसँग बढ्दो तनावको बीचमा, संयुक्त राज्य अमेरिकाले पहिले नै आफ्ना नागरिकहरूलाई इरान छोड्न सल्लाहकार जारी गरिसकेको छ। एक दिन अघि, क्यानडाले पनि आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न सल्लाह दिएको थियो । विगत केही हप्तादेखि इरानमा सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् ।

६- सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा किशोरीहरुलाई खेलौना बनाउने तालिमका लागि विनियोजित ३ लाख ८२ हजार ५३ रुपैयाँ हिनामिना गरेको आरोपमा नगर प्रमुख कुशवाहासहित वडा नम्बर ५ का वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह र लेखापाल राज कुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर-८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

७- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग भएर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए । सानेपाको केन्द्रीय समिति अस्ति नै भंग भएकाले त्यसले गर्ने निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।

८- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिले पार्टीबाट निष्काशित भएपछि प्रतिक्रिया दिदै विधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिने बताएका छन् । उनले सहमतिका लागि प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो भन्ने प्रश्न गर्दै काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफु दुवै दृढ रहेको बताएका हुन् । उनले भनेका छन्- ‘मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !’ आजै बसेको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

९- नेपाली काँग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारवाही गर्दै पार्टीबाट निष्काशित गरेको छ । केन्द्रीय समितिको बैठकले दुवै महामन्त्रीद्वय थापा र शर्मालाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । त्यस्तै काँग्रेसले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारवाही गर्दै पार्टीबाट निष्काशित गरेको विश्वकर्माले जानकारी दिएका छन् । त्यस्तै बैठकले विशेष महाधिवेशनमा संलग्नलाई पार्टीमा सामेल हुन आग्रह गरेको छ । विश्वकर्माले अब सहमतिका प्रयास सबै बन्द भएको जानकारी दिए ।
१०- नेप्से आज सामान्य बढेको छ । बुधबार नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनिका एक करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ मा कारोबार भएको थियो । आज बैंकिङ, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सुपर मादी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९४ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ८.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज आइसीएससी फाइनान्स डिभेन्चरको शेयर सबैभन्दा बढी ३.३० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको २६ करोड २४ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २३ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
११- अभियन्ता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सायमीलाई पार्टीमा स्वागत गरेका हुन । सायमी चर्चित गुठी आन्दोलनसहित काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको नेतृत्व गर्दै आएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।
१२- एसएमएसबाट अनधिकृत रूपमा सन्देश पठाएर प्रदर्शन गर्न उक्साउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट सेढाईलाई पक्राउ गरेको हो । उनले पुस ३० गते प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी राज्य बनाउने अभियानका लागि बलुवाटार जाऔँ भन्ने सन्देशसहितको सन्देश नेपाल टेलिकममार्फत लाखौ एसएमएस पठाएका थिए । सो एसएमएसको उजुरी टेलिकममा पनि परेपछि टेलिकमले सेवा प्रदायकबाट सन्देश पठाइएको र यसमा आफुहरु संलग्न नभएको जानकारी दिदै यस्तो सन्देश फेरी नपठाउन सचेत गराइएको बताएको थियो ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । गत हप्ता पक्राउ परेका २६ वर्षीय इरफान सोल्टानीका आफन्तहरूले उनलाई बुधबार मृत्युदण्ड दिइने बताएपछि ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् । मानव अधिकारका लागि हेन्गाव संगठनका एक प्रतिनिधिले इरानले प्रदर्शनकारीलाई कारवाही गर्ने प्रक्रिया छिटो अगाडी बढाएको बताएका छन् । सोल्टानीका एक आफन्तले इरानी अदालतले छिटो प्रक्रिया अगाडी बढाएर दुई दिनमै भित्र मृत्युदण्डको सजाय सुनाएको छ । यसअघि इरानका सर्वोच्च नेता र राष्ट्रपति दुवैले प्रदर्शनकारीलाई कडा सजाय दिने बताएका थिए ।
१४- भारतको हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की बजारमा आइतबार राति भएको ठूलो आगलागीपछि खोजी अभियानको क्रममा बुधबार थप सात जलेका अवशेषहरू फेला परेका छन् । दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतीय अधिकारीहरूले मृतकहरूमा नौ नेपाली नागरिक रहेको र एक बिहारका आठ वर्षीय बालक रहेको बताएका छन् । ग्याँस विस्फोटबाट भएको आगलागी भयानक रहेको र अहिलेसम्म कुनै पनि शव पूर्ण रूपमा निकाल्न नसकिएको बताइएको छ ।
सोमबार दुई, मंगलबार तीन र बुधबार सात अवशेषहरू बरामद गरिएका छन् । यी अवशेषहरूलाई फोरेन्सिक परीक्षणको लागि पठाइएको छ, जहाँ मृतकको पहिचान गर्न डीएनए परिक्षण गरिने बताइएको छ । मृतकका आफन्तहरूबाट डीएनए नमूनाहरू पहिले नै सङ्कलन गरिसकिएको छ । भग्नावशेष हटाउन भवनका पर्खाल भत्काइएको थियो र बाँकी भग्नावशेषहरू नजिकैको चौगन मैदानमा सारिएको थियो, जहाँ बिहीबार खोजी कार्य पुनः सुरु हुनेछ । अझै दुई पुरुष, दुई महिला र पाँच बालबालिका रहेका छन् र उनीहरु सबै नेपाली मूलका भएको प्रहरीले बताएको छ । भवनको जमिन र पहिलो तल्लामा व्यावसायिक पसल थिए भने माथिल्लो दुई तल्लामा नेपाल र बिहारका आप्रवासी कामदारहरू भाडामा बसिरहेको बताइएको छ ।
१५- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपाली महिला टिमले १९ ओभरमा अल आउट हुदै १०१ बनाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ । जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।
१६- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक बर्ष २०८२-८३ का लागि बजेट पारित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमितिको बैठकले आर्थिक बर्ष २०८२-८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आर्थिक बर्ष २०८१-८२ को संघको लेखा परिक्षण प्रतिवेदन पारित गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।
१७- प्रधानमन्त्री सुशीलाका कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रीहरु, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरु, विभागीय प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।
नेपालका विविध सामाजिक-राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उनको भनाइ थियो । उनले भनिन्- ‘स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आन्तरिक रूपमा व्यक्तिलाई खुसी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने प्रयोगात्मक जीवन पद्धति हो । स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ।त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैंसँग गर्छ।’
१८- सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको छ । मंगलबार साँझ करिब ७: ४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो । लुटेराले कर्मचारीलाई बाँधेर, सुरक्षा गार्डको हात काटिदिएर करोडौं रकम बोरामा हालेर भागेका थिए । फिल्मी शैलीमा घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको थियो ।
बैक लुटिएको खबर पाउनासाथ स्थानीयले चारैतर्फबाट घेरा हालेर सोही गाउँपालिकाको वडा नम्बर- १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । लुटिएको तीन करोड १० लाख ९५ हजार २८३ मध्ये एक करोड ८० लाख १० हजार ५०० प्रहरीले बरामद गरेको बताएको छ । लुटपाटमा प्रयोग गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको भए पनि अन्य केहि लुटेरा अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले फरार लुटेराहरूको खोजी तीव्र बनाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।
१९- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले बढेर तोलाको २ लाख ७८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३१५ रुपैयाँले बढेर तोलाको ५६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ५३४० रुपैयाँमा कारोबार भएको थियो ।
२०- ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले जनतालाई अहिले नै रोज्न भनियो भने उनीहरूले अमेरिकाको सट्टा डेनमार्क रोज्ने बताएका छन् । डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिक निल्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा जेन्स फ्रेडरिक निल्सनको यो भनाइलाई अहिलेसम्मकै सबैभन्दा कडा प्रतिक्रिया मानिएको छ । यो भनाइ यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो योजना नवीकरण गरेका छन् । ट्रम्पले रूस र चीनबाट जोगाउन ग्रीनल्याण्डको अमेरिकाको स्वामित्व आवश्यक रहेको छ ।
अमेरिकाले टापु खरिद गर्ने बताउदै आएको छ, तर यसलाई गाभ्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन । जब ट्रम्पलाई निल्सनको टिप्पणीको बारेमा प्रश्न गरिएको थियो, उनले भने- ‘त्यो उनीहरूको समस्या हो, म उनीसँग सहमत छैन… यो उनीहरूको लागि ठूलो समस्या हुनेछ ।’ डेनमार्क नेटोको सदस्य हो र यसका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सैन्य बलको प्रयोगले ट्रान्स-एट्लान्टिक रक्षा गठबन्धनको अन्त्य हुने चेतावनी दिएका छन् । उत्तर अमेरिका र आर्कटिकको बीचमा अवस्थित ग्रीनल्याण्डको भौगोलिक स्थानले क्षेप्यास्त्र आक्रमणको घटनामा प्रारम्भिक चेतावनी प्रणालीको लागि महत्त्वपूर्ण बनाउछ र यस क्षेत्रमा जहाजहरूको निगरानीको लागि पनि महत्त्वपूर्ण मानिन्छ ।
FACEBOOK COMMENTS