ललितपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताएका छन् ।
युनाइटेड नेप्लिज एसोसिएसन टेक्सास ९युएसए०, युनाइटेड नेपाली ड्यासपोरा ९युएसए० र एमआइटी ग्रुप फाउन्डेसन अस्ट्रेलियाको संयुक्त आयोजनामा आज ललितपुरमा ‘जेनजी सुशासन योद्धा’ विषयमा सहिदका परिवारसँगको संवाद तथा भेटघाट कार्यक्रममा उनले यस विषयमा बोर्डले स्वीकृति दिएसँगै हाललाई निवेदन दिएकामध्ये २७ जनाका लागि रोजगारीको व्यवस्था गरिएको जानकारी दिए ।
“हाललाई निवेदन दिएकामध्ये २७ जना गएर काम गर्न सक्नुहुन्छ, बाँकीका लागि पनि थप व्यवस्था गर्दै जाने छौँ । हामीले यो व्यवस्थाका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग समन्वय र सहकार्य गर्दै जाने छौँ”, अध्यक्ष घिसिङले भने । मुलुकको हित र जनचाहना नबुझ्ने शक्तिलाई विस्थापित गरेर जेनजी सहिदका माग पूरा गर्न सकिने उनले धारणा राखे ।
पूर्वमन्त्रीसमेत रहेका घिसिङले सहिद परिवारको भावनालाई हामीले बुझेका छौँ भन्दै यो विषयमा बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए । “सहिद पार्क र सालिक बनाउनेमा म सरकारमा हुँदा सकारात्मक छलफलपछि तयारी थालिएको छ । उज्यालो नेपाल पार्टी संसद्मा पुगेपछि सहिद परिवारका भावनालाई सम्बोधन गर्नेछौँ”, उनले भने ।
अध्यक्ष घिसिङले राज्यको जवाफदेहिताका लागि सहिद र घाइतेका परिवारसँग धेरै पटक छलफलमा आफू पनि संलग्न भएको उल्लेख गरे । “सहिदको सम्मानका लागि हामीले मन्त्रिपरिषद्मा पटकपटक छलफल गरेका थियौँ । आगामी फागुन २१ गते निर्वाचन हुँदैछ, त्यसपछि बन्ने संसद् र सरकारले पनि सहिद, घाइते र उहाँहरूका परिवारका विषयमा सम्बोधन गर्नेछ”, उनले भने ।


FACEBOOK COMMENTS