काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रत्यक्ष नेतृत्वमा गठन भएको समावेशी समाजवादी पार्टीले प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा पहिलो पटक संस्थागत र प्रत्यक्ष हस्तक्षेप गर्ने प्रयास थालेको छ। इतिहासमै पहिलो पटक विभिन्न जिल्लामा प्रत्यक्ष उम्मेदवारहरू उठाउँदै चुनावी प्रतिस्पर्धामा होमिएको छ।
पार्टीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, काठमाडौँ क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट देवेन्द्र बहादुर खत्री, ओखलढुङ्गाबाट पिंकी राई र काभ्रेपलान्चोकबाट विनोद लामा (कोनिका) लाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट पार्टीकी केन्द्रीय अध्यक्ष नुमा लिम्बू चञ्चलाले उम्मेदवारी दिएकी छन्।
समावेशी समाजवादी पार्टीका प्रत्यक्षतर्फका ६ जना उम्मेदवारको परिचयात्मक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। यो प्रयास केवल चुनावी सहभागिता नभई राज्य संरचनाबाट ऐतिहासिक रूपमा बहिष्करणमा परेका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने राजनीतिक हस्तक्षेप भएको दाबी उनीहरूले प्रस्तुत गरेका छन्।
उम्मेदवारहरूले पार्टीको चुनाव चिह्न ‘श्रीवत्स अनन्त गाँठो’ मा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरे। उनीहरूले पुराना तथा नयाँ शक्तिहरूलाई समेत उम्मेदवारी फिर्ता लिएर समावेशी समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्न अनुरोध गरे।
पार्टीका संरक्षक एवं सल्लाहकारसमेत रहेका संविधानसभा सदस्य सुनिल बाबु पन्तले अझै पनि पहिचान नखुलाएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई गोप्य मतदानमार्फत सहयोग गर्न आव्हान गरे। उनले मतदान प्रक्रियालाई आफ्नो अस्तित्व र राजनीतिक उपस्थितिको अभिव्यक्तिको माध्यमका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार फागुन २१ गते हुने मतदान केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वास्तविक जनसङ्ख्या तथ्याङ्क सार्वजनिक रूपमा देखिने महत्त्वपूर्ण अवसरसमेत हो। “नखुलेर बसेका समुदायका सदस्यहरूले गोप्य रूपमा मतदान गरेर आफ्नो अस्तित्व राज्यलाई देखाउन सक्छन्,” पन्तले भने।

समावेशी समाजवादी पार्टीले यो निर्वाचनलाई सत्तामा पुग्ने मात्र नभई, बहिष्कृत समुदायको राजनीतिक उपस्थिति दर्ज गराउने पहिलो ऐतिहासिक अभ्यासका रूपमा लिएको स्पष्ट पारेको छ।

अध्यक्ष नुमा लिम्बू चञ्चलाले आफूहरू केवल उम्मेदवारी घोषणा गर्न नभई राजनीतिक विकल्पको घोषणा गर्न उभिएको बताइन्। उनले नेपालको राजनीति लामो समयदेखि सत्ताको केन्द्रमा सीमित रहँदै आएको उल्लेख गर्दै जनताको जीवन, पीडा, पसिना र सपना भोटको सिजनमा मात्रै सम्झिने संस्कार तोड्नुपर्ने धारणा राखिन्।

उनका अनुसार समावेशी समाजवादी पार्टी शक्तिको राजनीतिमा होइन, सेवाको राजनीतिमा विश्वास गर्छ। व्यक्तिको आराधनामा होइन, विचारको सङ्गठनमा विश्वास गर्ने भन्दै उनले भाषणमा होइन, नीतिमा परिवर्तन खोज्ने राजनीति आफ्नो प्राथमिकता भएको स्पष्ट पारिन्। “राज्य केही सीमित वर्गका लागि होइन, सबै नेपालीका लागि हुनुपर्छ। समावेशिता नारा होइन, संविधानदेखि बजेटसम्म व्यवहारमा लागू हुनुपर्छ,” चञ्चलाले भनिन्।

पार्टीले अघि सारेका उम्मेदवारहरू कुनै दरबार वा ठेकेदारका प्रतिनिधि नभई जनताको पीडा बोकेर संसद् पुग्ने जिम्मेवार प्रतिनिधि हुने दाबी गरिएको छ। चञ्चलाका अनुसार पार्टी चुनाव जित्न मात्र नभई व्यवस्था सुधार्न मैदानमा उत्रिएको हो र निर्वाचित भए संसद्लाई सुविधा होइन, जनताको आवाज बनाउने लक्ष्य छ।
चञ्चलाले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएकी छन्। उनले मोरङ–४ का जनतासँग साझा भविष्यको सङ्कल्प गर्न उम्मेदवारी अघि सारेको बताइन्।
उनका अनुसार मोरङ–४ इतिहास, श्रम र सम्भावनाले भरिएको भए पनि लामो समयदेखि राजनीतिक बेवास्ता र असमान विकासको सिकार बनेको छ। “यहाँ सडक छन्, तर गन्तव्यसम्म पुग्दैनन्। विद्यालय छन्, तर गुणस्तरीय शिक्षा छैन। स्वास्थ्य चौकी छन्, तर उपचार छैन। युवा छन्, तर रोजगारी छैन। किसान छन्, तर उत्पादनको मूल्य छैन,” उनले समस्याहरू उल्लेख गरिन्।
यी कमजोरीहरू थाहा भएर पनि नदेखेझैँ गरिएको उल्लेख गर्दै उनले समस्या स्वीकार नगरी समाधान सम्भव नहुने बताइन्। आफू कुनै बाहिरी प्रतिनिधि नभई यही माटोको पीडा बोकेर उभिएको भन्दै उनले सिंहदरबारबाट होइन, खेतको डिल, बजारको गल्ली र मजदुरको पसिनाबाट राजनीति बुझ्ने व्यक्ति भएको दाबी गरिन्।
चञ्चलाले विजयी भए मोरङ–४ मा कृषि र किसान केन्द्रित विकास, उत्पादनदेखि बजारसम्म किसानको हक सुनिश्चित गर्ने नीति, युवा रोजगारी र सीपमूलक कार्यक्रम, शिक्षा र स्वास्थ्यमा पहुँच र गुणस्तर वृद्धि, समावेशी पूर्वाधार विकास तथा उत्तरदायी र पारदर्शी राजनीति लागू गर्ने स्पष्ट प्रतिबद्धता जनाइन्। उनका अनुसार सांसद जनताको सेवक हुनेछन्, मालिक होइनन्।
मोरङ–४ लाई भोट बैङ्क नभई साझा जिम्मेवारीको घरका रूपमा हेर्ने बताउँदै उनले यहाँको हरेक समस्या आफ्नो व्यक्तिगत राजनीतिक एजेन्डा भएको उल्लेख गरिन्। “अब समय आएको छ, पुरानै अनुहार फेरि–फेरि रोज्ने होइन, नयाँ सोच र नयाँ साहसलाई मौका दिने,” उनले भनिन्।
चञ्चलाले मोरङ–४ का मतदातालाई आफ्नो पीडा बोल्ने, समावेशी, न्यायपूर्ण र इमानदार प्रतिनिधि चाहने हो भने समावेशी समाजवादी पार्टी तथा आफूलाई भोट दिन आह्वान गरिन्। अब राजनीति वाचा होइन, कामले बोल्ने समय भएको र मोरङ–४ मा त्यही राजनीति सुरु गर्न आफू तयार रहेको उनले स्पष्ट पारिन्।
FACEBOOK COMMENTS