काठमाडौं । आगामी आम निर्वाचनलाई लक्षित गर्दै लोकप्रिय भिडियो प्लेटफर्म टिकटकले नेपालमा आफ्नो ‘इलेक्सन सेन्टर’ सुरू गरेको छ।
निर्वाचन आयोग, नेपालसँगको सहकार्यमा सुरू गरिएको यो इन–एप हबले प्रयोगकर्ताहरूलाई निर्वाचनसम्बन्धी सही, भरपर्दो र आधिकारिक जानकारी एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखेको छ। यसका लागि टिकटक र निर्वाचन आयोगबीच एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।
यस ‘इलेक्सन सेन्टर’ मार्फत नेपाली प्रयोगकर्ताले नेपालको निर्वाचन प्रक्रिया, मतदान गर्ने तरिका र स्थानका बारेमा जानकारी पाउनुका साथै भ्रामक सूचनाहरू पहिचान गर्ने सुझावहरू समेत प्राप्त गर्न सक्नेछन्।
टिकटकले निर्वाचनसँग सम्बन्धित भिडियो र सर्चहरूमा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै यस केन्द्रसम्म पुर्याउने व्यवस्था गरेको छ। साथै, निर्वाचनको निष्पक्षता कायम गर्न आयोग परिसरमा क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरिएको थियो।
प्लेटफर्ममा फैलिन सक्ने हानिकारक र भ्रामक सूचना रोक्न टिकटकले कडा नीतिहरू अवलम्बन गरेको छ। जसअन्तर्गत अपुष्ट सामग्रीहरूमा लेबल लगाउने, सिफारिसमा नपठाउने र सेयर गर्नुअघि प्रयोगकर्तालाई सचेत गराउने जस्ता उपायहरू अपनाइनेछ।

नेपालका लागि विशेष ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको र सामग्रीको सत्यता जाँच गर्न विश्वभरका २० भन्दा बढी तथ्य जाँच गर्ने संस्थाहरूसँग सहकार्य भइरहेको कम्पनीले जनाएको छ।

यसबाहेक, टिकटकले कृत्रिम संलग्नता (बोट नेटवर्क), नक्कली पहिचान र गोप्य प्रभाव पार्ने गतिविधिहरूलाई पूर्ण रूपमा निषेध गरेको छ। एआई (ब्क्ष्) बाट निर्मित सामग्रीहरूको हकमा अनिवार्य लेबल राख्नुपर्ने व्यवस्था गरिएको छ।

सार्वजनिक व्यक्तिहरूलाई गलत रूपमा प्रस्तुत गर्ने वा हैरानी दिने खालका एआई सामग्रीहरूलाई लेबल गरिए पनि प्लेटफर्ममा अनुमति नदिइने स्पष्ट पारिएको छ। यस पहलले निर्वाचनका समयमा सकारात्मक र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने विश्वास लिइएको छ।

FACEBOOK COMMENTS