काठमाडौं, भदौ ६ –सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री खतिवडाका अनुसार गत चैतदेखि साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको खर्च गरेको जानकारी दिए ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताए । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उनले बताए ।
त्यस्तै, प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको मन्त्री खतिवडाले जानकारी दिए । प्रदेशहरूले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । जसअनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा खर्च भएको उनले बताए ।
स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको पनि मन्त्री खतिवडाले जानकारी दिए । त्यसरी खर्च भएको सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS