काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानिसको काम सजिलो बनाउने र उत्पादकता बढाउने आशामा प्रयोग हुँदै आएको छ, तर हालैको एक अध्ययनले यसको विपरीत परिणाम देखाएको छ ।
हार्वर्ड बिजनेस रिभ्युमा प्रकाशित एक अध्ययनअनुसार, अत्यधिक एआई प्रयोगले कर्मचारीहरूमा नयाँ प्रकारको मानसिक थकान सिर्जना भइरहेको निष्कर्ष निकालेको छ ।
अनुसन्धानमा करिब १५०० कर्मचारीहरूलाई सर्वेक्षण गरिएको थियो । नतिजा अनुसार, जुन कर्मचारीहरूले एकैपटक धेरै एआई टूल्सको प्रयोग गर्दै काम गर्छन्, उनीहरूमा निर्णय लिने क्रममा थकान र काममा गल्ती बढी हुने देखिएको छ । सर्वेक्षणमा सातमध्ये एक कर्मचारीले एआई टूल्ससँग लगातार काम गर्दा उनीहरूलाई मानसिक थकान महसुस हुन्छ। अध्ययनले यस अवस्थालाई ‘ब्रेन फ्राइ’ अर्थात् दिमाग पूर्ण रूपमा थकाउने अवस्था भनेर उल्लेख गरिएको छ ।
अध्ययनकी सह-लेखक र बोस्टन कन्सल्टिङ ग्रुपकी म्यानेजिङ डाइरेक्टर जूली बेडार्डले यसलाई चेतावनीको संकेतको रूपमा हेर्नुपर्ने बताइन् । उनका अनुसार, एआईबाट प्राप्त उत्पादकता सम्बन्धी अपेक्षाहरूलाई सन्तुलित दृष्टिले बुझ्नु जरुरी छ ।
अध्ययन अनुसार, एआई टूल्ससँग दैनिक काम गर्ने पेशेवरहरूले धेरै पटक विभिन्न विंडो र टूल्स एकैसाथ खुला राख्नुपर्छ । कतिपय काम केही सेकेन्डमै पूरा हुन्छ भने केहीमा धेरै समय लाग्छ। यस लगातार बदलिँदो गति र दबाबका कारण दिमागमा अतिरिक्त तनाव आउछ ।

एआईको क्षमता यति उच्च छ कि कहिलेकाहीँ काम कहाँ रोक्ने निर्णय गर्न गाह्रो हुन्छ । कर्मचारीहरूले आफ्नै र एआई वर्कफ्लोको लागि समयसीमा तोक्न बाध्य हुन्छन्, ताकि कामको सन्तुलन रहोस् ।

अध्ययनले जुन कर्मचारीहरूले एआईको सही प्रयोग र स्पष्ट निर्देशन पाउछन्, उनीहरूमा ब्रेन फ्राइको समस्या कम देखिएको देखाएको छ । विशेषज्ञहरूको राय अनुसार समाधान एआई प्रयोग बन्द गर्नु होइन, तर मानव र एआईबीच राम्रो तालमेल बनाउनु हो । किनभने एआईको क्षमता असीमित भए पनि मानव दिमागको सीमा स्पष्ट छ ।

यस अध्ययनले एआईसँग काम गर्दा उत्पादन र मानसिक स्वास्थ्य दुवैमा ध्यान दिनुपर्ने चेतावनी दिएको छ ।

FACEBOOK COMMENTS