काठमाडौं,। नेपालका लागि जर्मनीका राजदूत तथा नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) का मानार्थ अध्यक्ष महामहिम उडो एउगेन फोल्जले नेपालमा लगानी आकर्षित गर्न तथा व्यापार र आर्थिक गतिविधि विस्तार गर्न सुदृढ व्यावसायिक वातावरण अत्यन्त आवश्यक रहेको बताएका छन्।
हालै एनजीसीसीआई सचिवालयमा आयोजित एनजीसीसीआई तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग आवद्ध व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाल–जर्मनी व्यापार तथा लगानी प्रवद्र्धनमा संघले विगत ३५ वर्षभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गरे। उनले नेपालमा जर्मन लगानी वृद्धि, नेपाल–युरोपियन युनियन (युरोपेली संघ) आर्थिक सहकार्य सुदृढीकरण तथा श्रम र सीपयुक्त आप्रवासनसम्बन्धी सम्झौतामा देखिएको स्थिरता हटाउन आवश्यक रहेकोमा जोड दिए।
राजदूत फोल्जले नेपाली उद्यमीहरूलाई नेपाल र जर्मनी दुबै देशमा आयोजना हुने व्यापार मेला तथा फोरमहरूमा सक्रिय रूपमा सहभागी भई आफ्ना व्यवसाय प्रवद्र्धन गर्न आग्रह गर्दै जर्मन पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षण, विशेष गरी पर्वतारोहण र साहसिक पर्यटनमा रहेको सम्भावनालाई पनि उल्लेख गरे।
कार्यक्रमका क्रममा एनजीसीसीआई का निवर्तमान अध्यक्ष अनुप बहादुर मल्लले नेपालले विगतमा जर्मनीसँग व्यापार सकारात्मक भए पनि हाल घाटाको अवस्था रहेको उल्लेख गर्दै जर्मन बजारमा नेपाली वस्तु तथा सेवाको प्रवद्र्धनका लागि मापदण्ड, मान्यता, व्यापारिक अवरोध तथा बजार पहुँचसँग सम्बन्धित चुनौतीहरू समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
एनजीसीसीआई का सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल र जर्मनीमा संघले विगत केही वर्षदेखि सञ्चालन गर्दै आएका गतिविधिहरूबारे प्रस्तुति दिँदै द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न संघले खेलेको भूमिकाबारे प्रकाश पारे।

कार्यक्रममा एनजीसीसीआई का उपाध्यक्ष नरेश लाल श्रेष्ठ र उत्तम भट्टराई, महासचिव एलेक्स लाल मुक्तान, कोषाध्यक्ष शुभाशीष थपलिया, सह–कोषाध्यक्ष गोपाल दास मानन्धर, कार्यसमिति सदस्यहरू विधाता श्रेष्ठ, राजीव मंगल जोशी लगायत अन्य सदस्यहरूले भिसा सहजीकरण, उच्च आयस्तरका पर्यटक आकर्षणमार्फत पर्यटन प्रवद्र्धन, बजार पहुँच तथा निर्यात प्रवद्र्धनका विषयमा आफ्ना धारणा राखेका थिए, जसलाई काठमाडौंस्थित जर्मन दूतावासका अधिकारीहरूले सकारात्मक रूपमा लिएका थिए।

कार्यक्रममा जर्मन दूतावासका प्रथम सचिव पिटर स्पेयरसहित अन्य अधिकारीहरू र २० भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समापनमाएनजीसीसीआई का सल्लाहकार डा. तिवारीले धन्यवाद ज्ञापन गरेका थिए। यस अवसरमाएनजीसीसीआई का संस्थापक अध्यक्ष दिव्यमणि राजभण्डारी, पूर्व अध्यक्ष रोहिणी थपलिया तथा पूर्व अध्यक्ष गोपाल सुन्दर लाल काक्ष्यपति पनि उपस्थित रहेका थिए।



FACEBOOK COMMENTS