काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले आफ्नो कार्यकाल सम्पन्न हुन लागेको अवसरमा सञ्चारमाध्यमप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
अध्यक्ष चौधरीले सम्पादकहरूलाई सम्बोधन गर्दै जारी गरेको सन्देशमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत बहस, सुधारका प्रयास, चुनौती तथा सम्भावनालाई तथ्यपरक रूपमा सार्वजनिक गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कृतज्ञता व्यक्त गरेका हुन् ।
उनले राष्ट्रिय जीवनमा स्वतन्त्र, उत्तरदायी र व्यावसायिक सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउँदै सूचना प्रवाहसँगै नीति, अर्थतन्त्र र उद्योग–व्यवसायसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्न सञ्चार क्षेत्रले उल्लेखनीय योगदान दिएको बताएका छन् । आफ्नो कार्यकालमा नाडाले अघि सारेका कार्यक्रम, सुधार पहल तथा संस्थागत रूपान्तरणका प्रयासहरू सञ्चारमाध्यमको रचनात्मक सहकार्यका कारण व्यापक जनमानस तथा सरोकारवाला निकायसम्म पुग्न सकेको उनको भनाइ छ ।
सञ्चारकर्मीहरूको व्यावसायिकता, निष्पक्षता र जिम्मेवार समाचार सम्प्रेषणले अटोमोबाइल क्षेत्रलाई स्वस्थ सार्वजनिक विमर्शको दायरामा राख्न सहयोग पुगेको उल्लेख गर्दै व्यक्तिगत रूपमा सञ्चारमाध्यमसँग स्थापित आत्मीय र सम्मानजनक सम्बन्धप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।
चौधरीले आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भए पनि सञ्चारमाध्यमसँगको व्यावसायिक सम्बन्ध र पारस्परिक सम्मान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । साथै राष्ट्रको आर्थिक तथा औद्योगिक विकाससँग सम्बन्धित विषयमा आगामी दिनमा पनि सहकार्य र संवाद जारी रहने अपेक्षा उनले व्यक्त गरेका छन् ।

‘यो कार्यकालको औपचारिक समापन भए पनि हाम्रो व्यावसायिक सम्बन्ध र पारस्परिक सम्मान भविष्यमा पनि निरन्तर रहनेछ । आगामी दिनमा फरक भूमिकामा रहेर पनि राष्ट्रको आर्थिक विकासका विषयमा संवाद र सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

यसअघि पुस ९ गते ललितपुरमा सम्पन्न ४९औँ वार्षिक साधारण सभाले गरेको निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै कार्यसमिति सदस्य आकाश गोल्छालगायतले पाटन उच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त निवेदन हिजो बुधबार खारेज भएसँगै नवनिर्वाचित कार्यसमितिले सपथग्रहण गर्ने बाटो खुलेको छ । यससँगै अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा सहयोग र समर्थन गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई कृतज्ञता व्यक्त गर्दै मिडियाको भूमिका स्मरणीय रहेको बताएका हुन् ।

FACEBOOK COMMENTS