काठमाडौं, भदौ ७ – देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् । काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ । निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने बताए ।
‘निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले भने, ‘उपत्यकामा भने निषेधाज्ञाले संक्रमण विस्तारमा पारेको प्रभावबारे अबको ४–५ दिनपछि नै नतिजा देखिनेछ ।’ उनका अनुसार निषेधाज्ञाका बेला संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुन्छ ।
उपत्यकामा शनिबार मात्रै देशभरिको दाँजोमा करिब एक तिहाइभन्दा बढी (२१६ जना) मा संक्रमण पुष्टि भएको छ । देशभर यस दिन ६ सय ३४ जना संक्रमित थपिएका थिए । निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आकलन छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेको पनि । ‘राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको छ ।’
हाल काठमाडौं उपत्यकालगायत जनघनत्व बढी भएका सहरहरूमा सर्वसाधारणको चहलपहल र भीडभाडले कोरोना संक्रमण विस्तारमा सहयोग पुगेको विज्ञहरू बताउँछन् । उपत्यकामा करिब ४ हजार संक्रमित देखिए पनि वास्तविक संक्रमितको संख्या योभन्दा बढी रहेको डा।पाण्डेको अनुमान छ । डा.अधिकारीका अनुसार तीजको समयमा निषेधाज्ञा नभएको भए काठमाडौं कोरोनामय हुने सम्भावना अत्यधिक थियो । ‘कोरोना हटस्पट भएको ठाउँमा निषेधाज्ञा बाध्यता हो, तर यही मात्र समस्याको समाधान होइन,’ उनले भने, ‘राजधानीको हकमा भने हाल निषेधाज्ञाले कोरोना फैलिनबाट रोक्यो ।’
निषेधाज्ञाका कारण राजधानीबाहिर भने संक्रमित हुनेको संख्यामा केही कमी आएको छ । ‘पछिल्ला ५ दिनमा कोभिड पोजिटिभ केसको संख्या धेरै घट्यो । (शनिबार) २ सय १५ शंकास्पद केसको परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखियो,’ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।रञ्जित झाले भने, ‘स्थानविशेषमा गरिने लकडाउन र निषेधाज्ञाको सप्तरी जिल्लामा सकारात्मक प्रभाव परेको छ ।’ उनले निषेधाज्ञाले संक्रमणको ‘चेन’ ९चक्र० तोड्न सघाएको बताए । भदौ १० पछि संक्रमित हुनेको संख्या घटेको देखिए मात्र निषेधाज्ञाले फाइदा गरेको यकिन भन्न सकिने वीरगन्जस्थित नारायणी अस्पतालका कन्सलटेन्ट फिजिसियन डा।नीरज सिंह बताउँछन् । ‘अस्पताल कोरोनाका बिरामीले अझै भरिएकै छ । निषेधाज्ञाले धेरै राम्रो भएको अहिल्यै भन्न सकिँदैन । पुरानै केसहरू नै आइरहेको छ,’ उनले भने ।
FACEBOOK COMMENTS