काठमाडौं । मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
गृह मन्त्रालयको निर्देशन बमोजिम मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य छन् ।
घटनाबारे आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समयसीमा तोकिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनले समितिले आजैदेखि काम सुरु गरेको जानकारी दिँदै सबै कुरा समितिले प्रतिवेदन दिएपछि थाहा हुने बताए ।
सफाइका क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयमार्फत लिखित ध्यानाकर्षण गराएको थियो । त्यसलगत्तै मन्त्रालयले चासो दिएको हो ।

FACEBOOK COMMENTS