काठमाडौं । फागुन २१ गतेको निर्वाचन परिणामलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएपछि त्यसबारे विभिन्न कोणबाट टिकाटिप्पणी र विश्लेषणहरू हुन थालेका छन् ।
पार्टीभित्र निकै ठूलो संघर्ष गरी विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुगेका थापाको राजीनामालाई लिएर धेरैले नेतृत्व पलायन हुने हो कि भन्ने चिन्ता प्रकट गरेका छन् भने केहीले यो उनको ‘स्टन्ट’ र ‘मिडिया ट्रायल’ मात्रै भएको बताइरहेका छन् । जे होस गगनको राजीनामाबाट कांग्रेजजन मात्र होइनन् अधिकांश नेपालीहरू खुसी देखिँदैनन् ।
यस्तै, खुसी नदेखिनेमा पर्छन् स्वतन्त्र लेखकको पहचान बनाएका दिल निशानी मगर । उनले चुनावमा भएको हार कुनै अपराध नभएको टिप्पणी गर्दै राजीनामाको विषयलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनाव हार्नु कुनै फौजदारी अभियोग वा नैतिक पतन नभएको स्पष्ट गर्दै राजीनामाबाट पछि हट्न आग्रह गरेका हुन् ।
‘चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन । चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुनु होइन । चुनाव हार्नु भनेको साङ्गठनिक अपराध गर्नु पनि होइन । तपाइँले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनु परेको छैन । जेल तोडेर निस्किनु परेको छैन । त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन,’ उनले लेखेका छन् ।
यस्तै, मगरले गगन थापाको विगत संघर्षलाई स्मरण गर्दै उनलाई ‘खरानी टक्टकाएर उभिएको व्यक्ति’ को संज्ञा दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत लक्षित गर्दै लेखेका छन्, ‘खरबौँ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफमाथि टाउको निकालेर हिँड्न सक्नेहरूले चुनाव जितेका छन् । तर तपाईं खरानी टक्टकाएर उभिएको मान्छे हो । लुकीलुकी हिँड्नु परेको थियो । त्यो दिन भेट्टाएको भए तपाइँलाई पनि आगोमा जलाएर मार्ने थिए । बाँचेर सभापति बन्न पाउनु भयो ।’

त्यसैले मगरले अगाडि भनेका छन्, ‘तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।’


FACEBOOK COMMENTS