काठमाडौं, भदौ १० – उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन उपभोक्ता संरक्षण परिषद्को सदस्यमा मनोनित भएका छन्। महर्जनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिषद्को सदस्यमा मनोनित गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २२ को उपदफा (२) को खण्ड (ड) बमोजिम महर्जनलाई दुई वर्षका लागि मन्त्रिस्तरीय निर्णयका आधारमा मनोनित गरिएको हो । सो दफामा उपभोक्ता हकहितसंग सम्बन्धित निकाय वा संस्थामा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव भएको व्यक्तिहरु मध्येबाट कम्तीमा एक जना परिषदमा रहने प्रावधान छ ।
परिषद्को अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहने व्यवस्था छ । परिषदमा उद्योग वाणिज्य, कृषि तथा पशुपन्छी, भूमी व्यवस्था, अर्थ, गृह, कानून र स्वास्थ्य गरी सात वटा मन्त्रालयका सचिव र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शका सदस्यहरु रहने गर्दछन ।
सो ऐनको दफा २४ मा परिषद्को काम, कर्तव्य अधिकारीमा उपभोक्ता अधिकार, आपूर्ति व्यवस्था, वस्तु वा सेवाको गुणस्तर सम्बन्धी नीति निर्धारण, नीति संशोधनमा विषयमा सरकारलाई आवश्यक सुझाव दिने कार्य तोकिएको छ। त्यसैगरी उपभोक्ता हकहित सम्बन्धी सूसुचित गराउने, उपभोक्ता हित सम्बन्धी पाठयसामग्री तयार आवश्यक नीतिगत व्यवस्था गर्ने,उपभोक्ता अधिकार संरक्षणका लागि आवयकता अनुसार प्रदेश वा स्थानीय तहमा निर्देशन दिने लगायत कार्यहरु गर्ने परिषद्को मुख्य जिम्मेवारी रहेको छ ।
महर्जन विगत लामो समयदेखि उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील छन्। उनी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष समेत हुन ।
FACEBOOK COMMENTS