काठमाडौं । सुशासनलाई सुधार गर्ने मुख्य लक्ष्यसहित अघि बढेको सरकारले आर्थिक अपराधमा संलग्नहरूलाई धमाधम पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यसैबीच, विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक कारोबारमा संलग्न रहेको आशङ्कामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष शेखर गोल्छालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनी हिरासतमा रहेका बेला बाहिर भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र शेखर गोल्छाबीचको सम्बन्धबारे चर्चा हुन थालेको छ । उनीहरूबीच राम्रो सम्बन्ध रहेको र डा. वाग्लेले गोल्छालाई सहयोग गरी हिरासतमुक्त गराउने अड्कलबाजीहरू सुरू भएका छन् ।
तर, अर्थमन्त्री वाग्लेले भने आर्थिक अपचलन र अपराधमा संलग्न कोही कसैलाई पनि आफ्नो समर्थन नरहने स्पष्ट गरेका छन् । व्यवसायीहरूसँगको एक भेटमा उनले आफू कसैको पक्षमा नलागी कानुन र न्यायको पक्षमा दृढतापूर्वक उभिने बताएका छन् ।
‘हामी विगतको सरकार र मन्त्रीहरू भन्दा निक्कै भिन्न रहेर काम गर्ने प्रयासमा छौँ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै भनेर अघि बढ्ने नीति अवलम्बन गरेका छौँ । त्यसकारण कोही–कसैसँग चिनजान वा अन्य कुनै सम्बन्ध रहेकै कारण उसले गरेको अपराधबाट मुक्ति दिलाउने वा चोख्याउने काम यो सरकार र कुनै पनि मन्त्रीहरूले गर्ने छैनन्,’ उनले भने ।

व्यवसायी संघ–संस्थाका प्रतिनिधिहरूसँगको एक प्रत्यक्ष भेटघाटका क्रममै अर्थमन्त्री वाग्लेले यस्तो अडान सुनाएपछि व्यवसायीहरूमा सन्नाटा छाएको स्रोतले बतायो । ‘अर्थमन्त्रीको नीर्भिक अडानपछि केहीबेर त कार्यक्रममा कोही पनि बोलेनन्, पूरै सन्नाटा छायो,’ स्रोतले भन्यो ।

अर्थमन्त्री वाग्लेको शेखर गोल्छालगायत केही व्यवसायीहरूसँग राम्रो सम्बन्ध रहेको र त्यस आधारमा आर्थिक अपराधसम्बन्धी मुद्दाहरूमा संरक्षण दिने चर्चा चलिरहेका बेला मन्त्री वाग्लेले यस्तो अडान दोहोर्याएका हुन् । जसले बजारमा चलिरहेको हल्लालाई निराधार भएको पुष्टि गरेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ मा पूर्व अध्यक्ष गोल्छाको समेत नाम उल्लेख भएको पाइएपछि पक्राउ गरिएको सीआईबीले बताएको छ ।