काठमाडौं । विशेष अदालतले व्यापारी शेखर गोल्छालाई १ करोड धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य, सदस्य न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालको इजलासले मंगलबार १ करोड धरौटी बुझाएर गोल्छालाई थुनामुक्त गर्न आदेश गरेको हो।
‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाल यी प्रतिवादी शेखर गोल्छाको भूमिका तथा संलग्नतालाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि नगद धरौटी १ करोड वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राख्नू,’ इजलासले भनेको छ, ‘धरौटी रकम वा जमानत नदिए थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालय पठाइदिनू।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छाविरूद्ध ५२ करोड ५० लाख बिगो कायम गरी विशेषमा मुद्दा चलाएको थियो।