एउटा पोखरी थियो, शान्त, पुरानो, आफ्नै लयमा बगिरहेको ।
त्यही पोखरीमा एउटा भ्यागुतो बस्थ्यो ।
उसका लागि त्यो पोखरी नै संसार थियो ।
त्यही पानी, त्यही किनार, त्यही घेरा, सबै कुरा त्यहीभित्रै पूरा हुन्थ्यो ।
तर, त्यही हिलोभित्र कतै चुपचाप केही कमलका बिरुवाहरू पनि उम्रिरहेका थिए ।
सुरूमा कसैले खासै ध्यान दिएन ।
किनकि हिलो उही थियो, पानी पनि उही ।
तर, समयसँगै ती बिरुवाहरू बिस्तारै माथि उठ्न थाले ।
एकअर्कालाई साथ दिँदै, एउटै जराबाट शक्ति लिँदै ।
दिन बित्दै गए ।
पोखरी उस्तै रह्यो, पानी उस्तै रह्यो ।
एक बिहान भने केही फरक देखियो ।
पानीमाथि एउटा सुन्दर कमल फुलेको थियो सोह्र पातहरू विस्तारै फैलाउँदै ।
हरेक पात फरक थियो, तर जरा एउटै थियो ।
हरेकले अर्कोलाई सम्हालिरहेको, साथ दिइरहेको ।
पोखरीले केही गुमाएको थिएन ।
तर, आज त्यही पोखरीमा एउटा कमल फुलेको थियो सोह्र जनाको शक्ति, एउटै फूल बनेर ।
हाम्रा प्रतिवद्धता
हामी निजी क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्डका रूपमा व्यवहारमा उतार्दै महासंघलाई सबै तहका उद्योगी व्यवसायीको साझा, विश्वसनीय र प्रभावकारी संस्था बनाउने प्रतिवद्धता व्यक्त गर्दछौँ । यसका लागि निजी क्षेत्रमैत्री नीतिगत सुधार, नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको जिम्मेवार र अर्थपूर्ण सहभागिता, महासंघको संस्थागत सुदृढीकरण तथा वस्तुगत परिषद् र सदस्य संघ–संस्थाको क्षमता अभिवृद्धिमा केन्द्रित रहेर काम गर्नेछौँ । महासंघलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउँदै सचिवालयलाई पेशागत, दक्ष र सेवाकेन्द्रित संस्थाका रूपमा विकास गर्नेछौँ । केवल प्रतिवद्धता मात्र होइन, परिणाम देखिने गरी काम गर्ने संस्कृतिको विकास हाम्रो प्राथमिकता हुनेछ । यो घोषणापत्र निजी क्षेत्रको केवल सपना होइन कार्यको प्रतिवद्धता हो । हामी निजी क्षेत्रको स्वाभिमान, राष्ट्रको हित र भविष्यको पुस्ताको सम्भावनालाई एकसाथ अघि बढाउनेछौँ ।
तपाईंको अमूल्य मतले हामीलाई सिङ्गो निजी क्षेत्रको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्ने अवसर दिलाउनेछ । उद्योग वाणिज्य महासंघ सङ्घीय प्रतिनिधिमूलक निजी क्षेत्रको छाता सङ्गठन हो । हामी यसलाई सबै उद्योगी–व्यवसायीका लागि घाम पानी छेक्ने वास्तविक छाताका रूपमा स्थापित गर्नेछौँ । महासंघलाई केही व्यक्तिहरूको नीहित स्थार्थपूर्तिको साधनको रूपमा नभई आम उद्यमी एवम् व्यवसायीको हकहितको प्रवर्द्धन र सम्बर्द्धन गर्ने विधि र पद्धतिले चल्ने संस्थाका रूपमा सञ्चालन गर्ने हाम्रो दृढ प्रतिवद्धता हो ।
हामी महासंघको संशोधित विधानले परिकल्पना गरे अनुसारको संस्था बनाउन देहाय अनुसारले काम गर्ने प्रण गर्दछौँ:–

सशक्त महासंघ र प्रभावकारी सचिवालय

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयलाई आधुनिक व्यवस्थापन प्रणाली, दक्ष जनशक्ति र स्पष्ट कार्यविधिसहित पुनर्संरचना गर्नेछौँ । जनशक्ति व्यवस्थापन (भर्ना, पदोन्नति, र मूल्याङ्कन) लाई पूर्ण रूपमा व्यावसायिक र पारदर्शी बनाउनेछौँ । सचिवालयलाई सदस्य–केन्द्रित सेवा प्रवाह गर्ने सक्षम केन्द्रका रूपमा विकास गरी महासंघको निर्णय कार्यान्वयन क्षमता सुदृढ गर्नेछौँ । महासंघ सचिवालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गर्नेछौँ ।

वस्तुगत परिषद्को सुदृढीकरण
वस्तुगत परिषद्लाई महासंघको नीति निर्माण र कार्यान्वयनको केन्द्रको रूपमा थप क्रियाशील र प्रभावकारी बनाउनेछौँ । परिषद् सचिवालयलाई सदस्य संघ–संस्थाका समस्या समाधान गर्ने एकीकृत इकाईका रूपमा विकास गरिनेछ । वार्षिक कार्ययोजना, बजेट, नियमित अनुगमन, ई–बुलेटिन प्रकाशन, साझा कार्यालयको व्यवस्था, उत्पादन प्रदर्शनी तथा सरकारी निकायसँग निरन्तर संवादमार्फत वस्तुगत परिषद्को भूमिकालाई संस्थागत र सुदृढ गरिनेछ साथै, वस्तुगत संघ/महासंघहरूको क्षमता विकासलाई अधिकतम प्राथमिकता दिइनेछ । नीति, ऐन तथा नियम, कार्यविधि निर्माणमा निजी क्षेत्र र सम्बन्धित वस्तुगत परिषदका प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग सहमति खोजिनेछ ।
युवालक्षित स्टार्टअपको विकास र रोजगारी
युवाहरूको आकांक्षा र चाहना अनुसारको देश बनाउनुपर्ने टड्कारो आवश्यकता छ । युवाहरूले सुशासन, व्यावसायिक सुरक्षा, उद्यमशीलताको विकासमा संरक्षण एवम् प्रोत्साहनमूलक व्यावसायिक वातावरण खोजेका छन् । युवाहरूले वैदेशिक रोजगारीलाई बाध्यात्मक परिस्थितिको रूपमा लिँदै देशभित्र नै उद्यमशीलतामार्फत रोजगारी सृजना गर्न उद्यत् छन् । युवा नै राष्ट्रको समृद्धिको आधार हुन् भन्ने मान्यतालाई स्थापित गर्दै महासंघले युवा उद्यमी, स्टार्टअप, नवप्रवर्द्धन तथा ‘एसएमईज’ स्थापना र सिप विकासलाई रोजगारी र आर्थिक समृद्धिसँग जोडने छ । हाम्रो नेतृत्वले प्रविधिमैत्री युवा जनशक्तिलाई राष्ट्रिय आर्थिक विकासमा समाहित गर्न आवश्यक नीतिगत पहल गर्नेछ । त्यसको अतिरिक्त युवालक्षित नीति तथा कार्यक्रम ल्याउन सरकारसँग प्रभावकारी पैरवी गर्नेछ ।
‘एसएमईज’को संरक्षण र प्रवर्द्धन
बढ्दो विश्वव्यापीकरणले स्वदेशी साना तथा मझौला उद्योग (एसएमईज) हरू गम्भीररूपमा प्रभावित भइरहेका छन् । यी उद्योगहरूको संरक्षण र प्रवर्द्धनका लागि तत्काल उपयुक्त नीतिगत व्यवस्था गर्न जरुरी छ । नेपाल अल्पविकसित देशहरू (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने क्रममा रहेको छ । त्यसरी स्तरोन्नति हुँदा ‘एसएमईज’ तथा मझौला उद्योगहरूलाई संरक्षण र सम्वर्द्धनमा गम्भीर चुनौती आउन सक्ने हुँदा यसप्रति हामीले समयमा नै चनाखो भई उपयुक्त रणनीति अङ्गीकार गर्नुपर्नेतर्फ हामी प्रतिबद्ध छौँ । साना तथा मझौला उद्योगका संरक्षण र प्रवर्द्धनका लागि अन्य आवश्यक कार्यको अतिरिक्त देहायका कार्यहरू गर्न हामी प्रतिवद्धता जाहेर गर्दछौँ:–
(क) उद्योगी, लगानीकर्ता लक्षित : आत्मनिर्भर हुन सक्ने उद्योग पहिचान गरी विशेष औद्योगिक नीति ल्याउन निर्णायक पैरवी गरिनेछ ।
– उद्योगमा प्रयोग हुने सबै कच्चा पदार्थको भन्सार दर घटाउन महासंघ अग्रसर हुनेछ ।
– परियोजना सम्पन्न भइसकेर पनि अड्किएका बिल भुक्तानी सरकारबाट अनिवार्य गराइनेछ ।
– कर घटाउने होइन, करको दायरा विस्तार गर्ने स्पष्ट, जिम्मेवार र दीर्घकालीन नीति अवलम्बन गर्न सरकारसँग सम्वादमार्फत दवाव सृजना गरिनेछ ।
(ख) निर्माण तथा पूर्वाधार–आधारित उद्योग
– काँचो इँट्टालगायत जोखिमयुक्त सामग्रीका लागि बीमा नीति लागू गराइनेछ ।
– निर्माण उद्योगमा प्रयोग हुने कच्चा पदार्थ सहज र सस्तो बनाइनेछ ।
– सरकारी परियोजनाको भुक्तानी समयमै हुने बाध्यकारी व्यवस्था गराइनेछ ।
– सवारी साधनलाई अत्यावश्यक वस्तुको परिभाषाभित्र समेट्न पैरवी गरिनेछ ।
– ढुवानी, कर र शुल्कमा निर्माण उद्योगमैत्री सुधार गरिनेछ ।
– दीर्घकालीन पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका संस्थागत गरिनेछ ।
(ग) घरेलु उद्योग (हस्तकला, ज्वेलरी तथा सांस्कृतिक उद्योग लगायत)
– कच्चा पदार्थको नियमित, कानूनी र सस्तो आपूर्ति सुनिश्चित गरिनेछ ।
– आधुनिक डिजाइन, प्रविधि र सिप तालीममा महासंघले प्रत्यक्ष लगानी गर्नेछ ।
– हस्तकला तथा ज्वेलरी उत्पादनलाई अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा उभ्याइनेछ ।
– निर्यात बजार विस्तारका लागि वैदेशिक सहकार्य र प्रदर्शनी बढाइनेछ ।
– सांस्कृतिक उद्योगलाई संरक्षण गर्ने विशेष नीति ल्याइनेछ ।
– परम्परागत सिपलाई रोजगारीसँग जोड्ने नयाँ उद्यम मोडेल विकास गरिनेछ ।
– परम्परागत तथा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग, हस्तकला, कपडा, खाद्य तथा अन्य उत्पादनको मूल्य अभिवृद्धि गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरिनेछ ।
उत्पादनमुखी, प्रतिस्पर्धी, कृषि उद्यमी र किसानमैत्री कृषि अभियान
कृषि, वनपैदावर, बीउबिजन, मल, सिञ्चाई, भण्डारण, परीक्षण प्रयोगशाला, बजार पहुँच र मूल्य श्रृङ्खलामा नीतिगत सुधारका लागि महासंघले अग्रणी भूमिका खेल्नेछ । कृषकलाई अनुदान, प्रविधि र बजारसँग प्रत्यक्ष जोड्दै कृषि उत्पादनलाई उद्योगसँग जोडिनेछ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कृषि उत्पादनको पहुँच विस्तारलाई प्राथमिकतामा राखिनेछ । कृषि उत्पादन एवम् सोको बजारीकरण, व्यापारको क्षेत्रमा हामीले मूलत: देहायबमोजिमको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ:–
– नेपाली कृषि उत्पादनको लागत घटाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन विशेष दवाव अभियान सञ्चालन गरिनेछ र आत्मनिर्भर कृषिका लागि नीतिगत तथा व्यावहारिक पहलकदमी लिइनेछ ।
– कृषिजन्य उत्पादनलाई उद्योगसँग जोड्ने स्पष्ट नीतिका लागि सरकारसँग विशेष पैरवी गरिनेछ ।
– कृषिजन्य कच्चा पदार्थ प्रयोग गर्ने नेपाली उद्योगहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा पहल गरिनेछ ।
– कृषि तथा खाद्य सुरक्षाका लागि शीतलभण्डार (कोल्ड स्टोर) र कोल्ड–चेन सञ्जाल विस्तार गर्न पहल गरिनेछ ।
– कृषि लगायत अन्य अत्यावश्यक सेवाको ढुवानीका लागि छुट्टै नम्बरप्लेट प्रणाली लागू गर्न पैरवी गरिनेछ ।
– कृषि उत्पादक र उद्योगबीच दीर्घकालीन खरिद–बिक्री सम्झौता प्रणाली स्थापनाका लागि पहल गरिनेछ ।
– कृषि बीमा तथा जोखिम न्युनीकरणलाई किसान तथा व्यवसायीमैत्री बनाइ कार्यान्वयनमा पहल गरिनेछ ।
– निर्यातयोग्य कृषि उत्पादनको ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारका लागि पहल गरिनेछ ।
– करारीय भूमि खेतीमा संलग्न किसानलाई बीमा तथा जोखिम व्यवस्थापन सुविधा दिलाई करारीय भूमि खेतीका विवाद समाधानका लागि छिटो र सरल संयन्त्र स्थापना गरिनेछ ।
– कृषि उत्पादनहरूमा भइरहेको अवैध चोरी निकासी रोक्न महासंघको तर्फबाट प्रभावकारी कदम चालिने छ र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिलाउन विशेष पैरवी गरिनेछ ।
– गाउँ, पालिका र वडास्तरमा उपलब्ध स्थानीय उत्पादनको पहिचान गरी त्यसै अनुसार सिप विकास, तालिम र प्रविधि पाथशाला स्थापना गरी प्रारम्भिक प्रशोधन उद्योगहरू सञ्चालन गरी रोजगारी सृजन ागर्दै पूर्वाधार विकास गरिने छ ।
– अन्तर्राष्ट्रिय रूपमा स्थापित सफल मोडललाई आत्मसाथ गर्दै, निजी क्षेत्र–केन्द्रित नेपाली पहिचान झल्किने उत्पादन तथा बजार सहकार्य मोडेल विकास गरिनेछ ।
– स्थानीय उत्पादनलाई बिचौलियाबिहीन रूपमा सिधै उद्योगसम्म पुर्याउने संरचना विकास गरी उत्पादन–प्रशोधन–बजारको एकीकृत मूल्य श्रृङ्खला निर्माण गरिनेछ ।
– किसान, समूह, सहकारी र उद्योगबीच कार्यक्रमको बाँडफाँट सुनश्चित गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले तीनै तहको सरकार र निजी उद्योगबीच समन्वयकर्ताको भूमिका निर्वाह गर्नेछ ।
– बन, खानी र कृषिजन्य क्षेत्रका सम्भावनाहरूको पहिचान गरी प्रविधि, लगानी र सहुलियतका लागि पहल गरिनेछ ।
– कृषि, पर्यटन, घरजग्गा–हाउजिङ, ब्रोडकास्टिङ र विज्ञापन क्षेत्रलाई दिगो अर्थतन्त्रका आधारका रूपमा प्रवर्द्धन गरिनेछ ।
पर्यटन क्षेत्र
पर्यटनलाई कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात र वन–पर्यटनसँग जोडेर एकीकृत विकास मोडेल अघि बढाइनेछ । यस मोडेलमा महासंघले आफ्नो सिङ्गो सञ्जाल परिचालन गर्दै पर्यटन पूर्वाधार विस्तार, दक्ष जनशक्ति विकास, आधुनिक भुक्तानी प्रणाली, नीति सुधार र अन्तर मन्त्रालय समन्वयमार्फत पर्यटन क्षेत्रको दिगो विकासमा सक्रिय भूमिका निर्वाह गर्न पहल गरिनेछ । साथै, महासंघले पर्यटन व्यवसायीका हकहित सुनिश्चित गर्न निरन्तर पहल गर्नेछ । व्यवसायीलाई प्रविधि, बजार पहुँच, वित्तीय सुविधा र क्षमता अभिवृद्धि कार्यक्रममार्फत सशक्त बनाइनेछ । व्यवसायी र उद्योग दुवैलाई बलियो बनाउँदै, राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई नयाँ उचाइमा पुर्याउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्नेछ । पर्यटन क्षेत्रमा अन्य आवश्यक कार्यको अतिरिक्त देहायबमोजिमको काम गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ:–
– पर्यटन क्षेत्रसँग सम्बन्धित कर, मु.अ. कर, हवाई टिकट कर, पर्मिट शुल्क, विमानस्थल शुल्क, केवलकार, साहसिक र जल पर्यटनसम्बन्धी नीति तथा कानूनलाई समयानुकूल, व्यवहारिक र व्यवसायमैत्री बनाउन महासंघले सरकारसँग सशक्त पैरवी गर्नेछ ।
– टुर ट्राभल, होटेल, रेष्टुरेन्ट, ट्रेकिङ, यातायात, एयरलाइन्स र साहसिक पर्यटन क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव अन्त्य गर्न तालिम, सिप विकास, प्रमाणीकरण र आधुनिक व्यवस्थापन प्रणालीमार्फत व्यवसायी र श्रमिकको क्षमता विकास गर्न पहल गरिनेछ ।
– पर्यटनमैत्री पूर्वाधार, सुरक्षित हवाई तथा स्थल यातायात, डिजिटल भुक्तानी प्रणाली, गुणस्तरीय सेवा र बलियो सुरक्षा संयन्त्र विकासका लागि महासंघले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै सक्रिय भूमिका खेल्न पहल गरिनेछ ।
– पर्यटनबाट आर्जित विदेशी मुद्रालाई राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष जोड्ने नीति अवलम्बनका लागि पहल गरिनेछ ।
– साना तथा मझौला व्यवसायीलाई दर्ता, नवीकरण र सञ्चालनमा देखिएका जटिलता हटाइनेछ । अवैध, गैरकानूनी र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्दै सबैलाई राजस्वको दायरामा ल्याउन प्रभावकारी अनुगमन प्रणाली प्रवर्द्धन गरिनेछ ।
– नेपालका पर्यटन गन्तव्य, साहसिक, जलयात्रा, केबलकार, स्वास्थ्य, योग, कृषि र वन–पर्यटनलाई समेटेर देशभित्र तथा अन्तर्राष्ट्रिय बजारमा एकीकृत ब्रान्डिङ डिजिटल प्रवर्द्धन र निजी क्षेत्रको सहभागितामा प्रचार अभियान सञ्चालन गरिनेछ ।
– पर्यटनसँग जोडिएका उड्डयन, ऊर्जा, वन, भौतिक पूर्वाधार र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै दीर्घकालीन योजना, स्थायित्व, वातावरण संरक्षण र दिगो पर्यटन विकासमा महासंघ सेतुको भूमिकामा रहनेछ ।
शिक्षा स्वास्थ्य
– आयुर्वेदिक औषधिलाई अन्य औषधिसरह न्यायोचित मान्यता दिँदै अव्यावहारिक ‘जीएमपी’ मापदण्ड सुधार गर्न पैरवी गरिनेछ ।
– नेपाललाई स्वास्थ्य तथा शिक्षा (मेडिकल) लाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्थापित गरी पर्यटनको हबका रूपमा विकास गर्न निजी क्षेत्रको नेतृत्वमा पहल गरिनेछ ।
– ग्रामीण र दुर्गम क्षेत्रमा अस्पताल, स्वास्थ्य चौकी, औषधिलयहरूमा वशिषज्ञ चकित्सिकको ठूलो अभाव, दक्ष जनशक्तको कमी डाक्टर, नर्स, ल्याब टेक्नसियिनजस्ता स्वास्थ्यकर्मी शहर केन्द्रित रहने तथा वदिश पलायनको बाटो रोज्ने अवस्थालाई रोक्न र ग्रामीण दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार सँग नरिन्तर पैरवी गरिनेछ ।
– गैर–प्रावधिकिबाट फार्मेसीहरू सञ्चालनमा छन् योग्य फार्मासस्टि वा ‘सीएमए’ नभई औषधि बिक्री हुने अवस्था अझै रहेको छ यसले पेशागत व्यवसायीलाई अन्याय हुन नदनि र गुणस्तरी सेवा प्रवाहका लाग सम्बन्धित निकायहरू संघ सहकार्य गरी गैर–प्रावधिकिबाट फार्मेसीहरू सञ्चालनमा रोक लगाउन पहल गरिनेछ ।
निर्यातमुखी उत्पादनमूलक उद्योगको विस्तार र प्रवर्द्धन
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उत्पादनमूलक उद्योग पहिचान, नीतिगत सुधार, कच्चा पदार्थ आपूर्ति, ऊर्जा लागत न्यूनीकरण, वित्तीय पहुँच र निर्यात प्रोत्साहनमा विशेष ध्यान दिइनेछ । घरेलु उत्पादनको प्रयोग र उपभोग बढाउने नीतिको प्रभावकारी कार्यान्वयन गरिनेछ । निर्यात तथा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा अन्य आवश्यक कार्यको अतिरिक्त देहायबमोजिमको काम गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ । त्यसका अतिरिक्त देहायका कामहरू गर्नेछौँ:–
– निर्यातमूलक उद्योगलाई दिइने नगद अनुदान नियमित र सहज बनाइनेछ ।
– तयारी पोशाक, पश्मिना, कार्पेटजस्ता परम्परागत उद्योग पुनरुत्थानका लागि कूटनीति परिचालन गरिनेछ ।
– अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यापार सम्झौता र प्रदर्शनीमा महासंघ सक्रिय हुनेछ ।
– हस्तकला र ज्वेलरी उद्योगका लागि कच्चा पदार्थ आपूर्ति सहज गराइनेछ ।
– निर्यात प्रक्रिया सरल, छिटो र डिजिटल बनाउन नीतिगत सुधार गराइनेछ ।
– नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन राष्ट्रिय अभियान चलाइनेछ ।
– वैदेशिक लगानी (एफडीआई) सम्बन्धमा क्षेत्रगत आवश्यकता, राष्ट्रिय हित र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखी स्पष्ट धारणा बनाइनेछ ।
– जीआई, जीओटी, आईएसओ, सेडेक्स, हाइ माउन्टेल, एसएफए लगायत अन्तर्राष्ट्रिय प्रमाणीकरणमार्फत नेपाली उत्पादनको विश्व बजार पहुँच विस्तार गर्न दबाबमुलक पैरवी गरिनेछ ।
दिगो र सुरक्षित भविष्य नवीकरणीय ऊर्जा
स्वच्छ, नवीकरणीय र सुरक्षित ऊर्जाको प्रवर्द्धनमार्फत दिगो औद्योगिक विकासमा योगदान पुर्याइनेछ । महासंघभित्र नवीकरणीय ऊर्जा केन्द्र स्थापना, निजी क्षेत्र–सरकार सहकार्य र ऊर्जा सुरक्षासम्बन्धी नीतिगत पहल गरिनेछ । स्वच्छ, नवीकरणीय र सुरक्षित ऊर्जाको प्रवर्द्धनमार्फत दिगो औद्योगिक विकासमा योगदान पुर्याइनेछ । महासंघभित्र नवीकरणीय ऊर्जा केन्द्र स्थापना, निजी क्षेत्र–सरकार सहकार्य र ऊर्जा सुरक्षासम्बन्धी नीतिगत पहल गरिनेछ । यसका अलावा:–
– नवीकरणीय ऊर्जा, लघु जलविद्युत् र गैरपरियोजनामा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिने नीतिका लागि सरकारसँग लगातार पैरवी गर्न पहल गरिनेछ ।
– विद्युत् प्राधिकरण, पीपीए र माइक्रो–टर्बाइन निर्यातमा महासंघले अग्रसरता लिएर साना परियोजनालाई समान अवसर दिलाउनेगरी काम गर्न पहल गरिनेछ ।
– ऊर्जा सुरक्षा र वैकल्पिक स्रोतको विकासमा ग्यास, पेट्रोलियम र अन्य ऊर्जा स्रोतको जोखिम न्यून गर्ने संरचना निर्माण, ३–६ महिनाको भण्डारण सुनिश्चित र वैकल्पिक स्रोतको विकासका लागि नीति कार्यान्वयन गर्न विशेष भूमिका निर्वाह गर्न पहल गरिनेछ ।
– नेपाल–भारत मोटर भेहिकल सम्झौता सुधार र भाडा समायोजनमा उद्योगको हित सुनिश्चित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न पहल गरिनेछ ।
– लघु जलविद्युतमा अनुदान कटौतीको पुनर्विचार र नेपाल आयल निगममा निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न रणनीतिक पहल गरिनेछ ।
सुशासन, नीतिगत सुधार र निजी क्षेत्रको रक्षा
– उद्योग तथा व्यवसाय दर्ता एवम् सञ्चालनसँग सम्बन्धित नीति, ऐन/नियमावलीहरूमा समयसापेक्ष सुधार गरी उद्योग र व्यवसायी मैत्री बनाउन पहल गरिने छ ।
– सरकारी निकायमा हुने ढिलासुस्ती, अनुचित लेनदेनजस्ता कामकारबाही हटाउन उचित पहल गरिने छ ।
– सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी एवम् स्वच्छ बनाई स्वदेशी व्यवसायीको हकहित संरक्षणको लागि पहल गरिने छ ।
– सार्वजनिक खरिद प्रक्रियामा हुने कमिसन जस्ता अनुचित क्रियाकलाप नियन्त्रणको लागि आवश्यक पहल गरिने छ ।
उद्योग तथा व्यवसायमैत्री सुरक्षाका लागि
– महासंघ (निजी क्षेत्र) तथा सरकारी निकायबीच स्पष्ट कार्यविधि र जिम्मेवारी निर्धारण,
– भ्रष्टाचार नियन्त्रण र अनुशासन कायम गर्न शून्य सहनशीलताको नीति,
– डिजिटल प्रणालीमार्फत सेवा प्रवाह सरल, छरितो र प्रभावकारी बनाउनु,
– स्थिर, स्पष्ट र दीर्घकालीन आर्थिक तथा औद्योगिक नीति निर्माण,
– कर प्रणाली सरल, पूर्वानुमानयोग्य र व्यवसायमैत्री बनाउनु,
– लगानी, उद्योग दर्ता, इजाजतपत्र तथा नवीकरण प्रक्रिया सहज बनाउनु,
– निजी क्षेत्रका सुझाव समेटी नीति निर्माणमा संस्थागत संवादको व्यवस्था,
– निजी लगानीको सुरक्षा र सम्पत्ति अधिकारको सुनिश्चितता,
– नीतिगत अनिश्चितता र बारम्बार हुने नियम परिवर्तनबाट व्यवसायीको संरक्षण,
– सङ्कटका समयमा उद्योग र व्यवसाय जोगाउन सहुलियत, राहत र सुरक्षा समर्थन,
– स्वदेशी उद्योग, उद्यमी र व्यवसायको संरक्षण तथा प्रवर्द्धन ।
हामी नै किन ?
नेपाल उद्योग वाणिज्य महासंघ आज एउटा निर्णायक मोडमा उभिएको छ । कमजोर कार्यान्वयनमा महासंघको प्रभाव सीमित र सदस्य केन्द्रित सेवा निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि नीति निर्माणमा यसको आवाज अपेक्षित स्तरभन्दा तल रहेको आवाज छ । यही यथार्थलाई बदल्न यो निर्वाचन अपरिहार्य अवसर हो । हामी जित्नुपर्छ, किनकि हामी स्थिति जस्ताको तस्तै राख्न होइन, निजी क्षेत्रको गिरेको मनोवल उकास्न चुनावी मैदानमा उत्रिएका हौँ ।
पहिलो, हामी बोलेर होइन, गरेर देखाउने नेतृत्व प्रस्तुत गर्दैछौँ । निजी क्षेत्रमैत्री नीति, कर तथा व्यवसाय सुधारका विषयमा महासंघ अब औपचारिक टिप्पणीमा मात्र सीमित हुंदैन । आवश्यक परे दबाब सिर्जना गर्छ, संवादलाई निर्णयमा रूपान्तरण गर्छ र परिणाम सार्वजनिक रूपमा देखाउँछ ।
दोस्रो, हामी महासंघलाई सदस्य–केन्द्रित संस्थामा रूपान्तरण गर्न प्रतिवद्ध छौँ । विधानले व्यवस्था गरेका सबै परिषद् समिति, फोरम र सदस्य संघ–संस्थालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट तय गर्ने स्पष्ट संरचना हामीसँग छ । महासंघ अब केही व्यक्तिको होइन, सबै उद्योगी व्यवसायीको साझा शक्ति केन्द्र बन्नुपर्छ ।
तेस्रो, हामीसँग स्पष्ट एजेण्डा र कार्यान्वयनयोग्य रोडम्याप छ । युवा (जेन–जेड), स्टार्टअप, एसएमई, कृषि–उद्योग एकीकरण, उत्पादनमूलक उद्योग, निर्यात प्रवर्द्धन, पर्यटन र नवीकरणीय ऊर्जा, उद्यमशीलतामार्फत रोजगारी सृजनामा हामी केवल सम्भावनाको कुरा गर्दैनौँ, कसरी, कहिले र कसको जिम्मेवारीमा भन्ने स्पष्ट खाका समेत पेश गर्दर्छौँ ।
चौथो, हामी साहसी र स्पष्ट नेतृत्व दिन चाहान्छौँ । निजी क्षेत्रको सम्मान, सुरक्षा र आत्मसम्मानमा आँच आउँदा महासंघ मौन बस्दैन । सरकार, नियामक निकाय र सरोकारवालासँग बराबरीको हैसियतमा उभिएर निजी क्षेत्रको पक्षमा बोल्ने र लड्ने नेतृत्व हामी दिन्छौँ ।
पाँचौं, हामी पारदर्शिता र उत्तरदायित्वमा विश्वास गर्छौं । घोषणापत्र केवल चुनावी कागज मात्र होइन । यसको कार्यान्वयनको वार्षिक मूल्याङ्कन, सार्वजनिक प्रतिवेदन र सदस्यसँग प्रत्यक्ष संवाद हाम्रो कार्यसंस्कृति हुनेछ ।
आजको प्रश्न सरल छ, के हामी कमजोर प्रभावको महासंघ चाहन्छौँ, कि निर्णय बदल्ने सशक्त महासंघ ? यदि तपाईं सशक्त महासंघ, सम्मानित निजी क्षेत्र र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ भने, हामी जित्नुपर्छ ।
अन्त्यमा हाम्रो स्पष्ट सन्देश:–
यो निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, एफएनसीसीआईलाई कुन दिशामा लैजाने भन्ने ऐतिहासिक महाअभियान हो । हामी बाचा मात्र गर्दैनौँ, स्पष्ट कार्ययोजना दिन्छौँ । हामी दबाब मात्र सृजना गर्दैनौँ ठोस परिणाम निकाल्छौँ । हामी विश्वास गर्छौँ, सही नेतृत्व र दृढ सङ्कल्पले कुनै पनि कठिनाइलाई जित्न सकिन्छ ।
यदि यहाँहरू सशक्त महासंघ, सम्मानित निजी क्षेत्र र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ भने आउनुहोस्, एफएनसीसीआईलाई फेरि निजी क्षेत्रको भरोसायोग्य, सशक्त र व्यवसायीले खोजेको संस्थाका रूपमा पुनर्निर्माण गरौँ । निर्णय यहाँहरूको हो, त्यसलाई सफल पार्ने जिम्मेवारी हाम्रो । आउनुहोस्, एफएनसीसीआईलाई फेरि निजी क्षेत्रको वास्तविक शक्ति केन्द्र बनाऔँ ।