काठमाडौं । एनआईसी एसिया बैंकले प्रयोगमा रहेका दुई वटा चारपांग्रे सवारीसाधन लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै ‘जहाँ छ, जस्तो अवस्थामा छ’ त्यसै आधारमा सवारीसाधन बिक्री गर्न लागिएको जनाएको हो ।
बैंकका अनुसार इच्छुक व्यक्ति, फर्म वा कम्पनीले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको बैंकको कर्पोरेट कार्यालयको तेस्रो तलाबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन् । फाराम प्राप्त गर्नका लागि पाँच हजार रूपैयाँ दस्तुर बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
लिलामीमा राखिएका सवारीसाधनमध्ये एउटा २०१८ मोडेलको इसुजु म्यु–एक्स र अर्को २०१८ मोडेलको टोयोटा फर्चुनर रहेका छन् । दुवै सवारीसाधन कार्यालय प्रयोजनका लागि प्रयोगमा रहेका गाडी भएको बैंकले जनाएको छ ।
बैंकले सूचना अवधिभर कार्यालय समयभित्र थापाथलीस्थित ट्रेड टावरमा सवारीसाधन निरीक्षण गर्न सकिने जनाएको छ । बोलपत्रदाताले आफूले प्रस्ताव गरेको रकमको १० प्रतिशत धरौटी रकम तीन महिनासम्म मान्य हुने गरी बुझाउनुपर्नेछ । असफल बोलपत्रदातालाई उक्त रकम फिर्ता गरिने बैंकले जनाएको छ ।

कम्पनी वा फर्मका हकमा दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लगायतका कागजात नोटरी गरी पेश गर्नुपर्नेछ भने व्यक्तिगत आवेदकले नागरिकता र प्यान प्रमाणपत्रको प्रतिलिपि नोटरीसहित बुझाउनुपर्नेछ ।

बैंकका अनुसार सिलबन्दी बोलपत्र २०८३ जेठ २५ गते कार्यालय समयभित्र बैंकको जनरल एडमिनिस्ट्रेशन विभागमा बुझाइसक्नुपर्नेछ । बोलपत्र खोल्ने मिति भने ई–मेलमार्फत जानकारी गराइने बैंकले जनाएको छ ।