काठमाडौँ । चालु आर्थिक वर्ष २०८२- ८३ को नौं महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकले सार्बजनिक गरेको चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म (नौं महिना) को आर्थिक तथा वित्तीय स्थितिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६५९ अर्ब ४१ करोड पुगेको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा मात्र विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । त्यस्तै यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०३ अर्ब १२ करोड रहेको थियो ।
नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो ।

