काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को युट्युब च्यानलमा अपलोड भएको जस्तो देखिएको ‘शिरमाथि नेपाल आमालाई, काँधमाथि ज्ञानेन्द्र राजालाई’ भन्ने शब्द रहेको गीतले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ ।
२०२४ फेब्रुअरी २० मा अपलोड भएको यो गीत तिन महिनापछि अहिले चर्चामा आएको हो । गीतमा समावेश गरिएको ‘काँधमाथि ज्ञानेन्द्र राजालाई’ भन्ने शब्दका कारण यो गी आवश्यक भन्दा बढी चर्चामा आएको हो ।
राजा ज्ञानेन्द्रप्रति श्रद्धाभाव प्रकट गरिएको भएकाले कतिपयले राजसंस्था पुननिर्माणका लागि गीतलाई ट्रेन्डिङमा ल्याएर राजतन्त्र पक्षधरले गणतन्त्र फाल्नुपर्ने तर्क राखेका छन् । गीतको भिडिओको थम्बनेलमा गीतको शीर्षक ‘शिरमाथि नेपाल आमा’ लेखिएको छ, स्वयम्बु, गौतमबुद्ध, हिमाल र सुरक्षाका लागि तयार रहेका हतियारधारी सेनाको तस्बिर राखिएको छ ।
दुई हात जोडेर प्रार्थना गरिरहेकी एक वृद्धाको तस्बिर, पालामा दियो बलिरहेको तस्बिर पनि थम्बनेलमा प्रयोग भएको छ । तर, यो गीत बालेनको अधिकारिक युट्यूब च्यालनभित्र गएर हेर्दा भने कतै देखिँदैन । सामाजिक सञ्जालमा शेयर भइरहेका लिङ्कमा गएर थिच्दा मात्रै उनको आधिकारिक च्यानलमा पुगिन्छ ।
यसरी देखिने र सुनिने उक्त गीतको थम्बनेल र आवाज सबै कृत्रिम बुद्धिमता (एआई) को माध्यमबाट बनाइएको थाहा पाउने कुनै असहज छैन । १३ लाख दश हजार भन्दा बढी सब्सक्राइबर रहेको च्यानलमा अपलोड गरिएको यो गीत यो समाचार सामग्री तयार पार्दासम्म ४७ हजार पटक भन्दा केही बढी हेरिएका छन् । उनको च्यानलमा अपलोड हुने कुनै पनि सामग्रीहरूको भ्यूज प्राय: ‘मिलियन’ माथि नै जान्छ । तर, तीन महिनाअगाडि नै पोष्ट भएको यो गीतमा अपेक्षित भ्यूज गएको देखिँदैन ।


किनकि यो गीत न प्रधानमन्त्री साहले गाएका हुन् न त आफ्नो युट्युब च्यानलमा आफैंले अपलोड गरेका नै । अब प्रश्न उठ्छ त्यसो भए ‘शिरमाथि नेपाल आमा’ शीर्षकको गीत प्रधानमन्त्री बालेनको युट्युब च्यानलमार्फत तपाइँहामीसम्म कसरी आइपुग्यो ?

यसको रहस्य पत्ता लगाउन तपाइँले गीतसँगै एउटा महत्वपूर्ण कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ । भ्यूजको अङ्क देखिने ठिक तल ‘प्रोभाइडेड टू युट्युब बाइ डिस्ट्रोकिड’ लेखिएको देख्न सकिन्छ । यसको अर्थ कुनै एजेन्टमार्फत यो गीत प्रधानमन्त्री साहको च्यानलमार्फत तपाइँ हामीसम्म आइपुगेको हो ।
अब फेरि प्रश्न उठ्छ डिस्ट्रोकिड भनेको के हो ? कलाकारहरूले वार्षिक केही शुल्क तिरेर डिस्ट्रोकिडमा आफ्नो अकाउन्ट खोल्ने गर्छन् । युट्युब म्युजिक, एप्पल म्युजिक वा स्पोटिफाइ जस्ता म्युजिक एपहरूमा डाइरेक्ट क्रियटरहरूले अपलोड गर्न मिल्दैन त्यसैले डिस्ट्रोकिडले ती एपसम्म गीतलाई पुर्याउनका लागि माध्यमको काम गर्छ ।
डिस्ट्रोकिड संसारभरि चल्ने एउटा एजेन्सी हो । कलाकारहरू यहि डिस्ट्रोकिडमा आफ्नो गीत वा आफ्नो डिजिटल सामग्रीहरू अपलोड गर्ने गर्दछन् । त्यसपछि डिस्ट्रोकिडले उक्त गीतलाई म्युजिक एपहरू युट्युब म्युजिक, एप्पल म्युजिक वा स्पोटिफाइमा पठाउने गर्छ ।
यसरी नै ‘शिरमाथि नेपाल आमा’ शीर्षकको गीत प्रधानमन्त्री बालेन साहको युट्युव च्यानलबाट तपाइँहामीकहाँ आइपुगेको हो ।