काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) का नवनिर्वाचित अध्यक्ष रमानाथ श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।
गत शनिबार सम्पन्न संघको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सफल बनाउन सहयोग पुर्याउने सरोकारवालाहरूलाई उनले धन्यवाद ज्ञापन गरेका हुन् ।
नवनिर्वाचित कार्यसमितिको तर्फबाट गत सोमबार अध्यक्ष श्रेष्ठले जारी गरेको ‘धन्यवाद ज्ञापन’ मा भनिएको छ, ‘नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको पाँचौं वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशन कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यू एवम् प्रतिनिधिज्यूहरू, वस्तुगत तथा क्षेत्रगत संघ–संस्थाका अध्यक्षज्यू एवम् प्रतिनिधिज्यूहरू, संघका सदस्यज्यूहरू, उद्योगी–व्यवसायीज्यूहरू, शुभेच्छुकज्यूहरू, सञ्चारकर्मीज्यूहरू तथा सम्पूर्ण महानुभावहरूप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ हार्दिक आभार व्यक्त गर्दछौँ ।’
सरोकारवाला सबैको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप भव्य र सभ्य बनाएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस्तै, संघलाई सक्षम र सशक्त ढङ्गले अगाडि बढाई वर्तमान अवस्थासम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने संस्थापक अध्यक्षलगायत सबै अग्रजहरूप्रति संघले विशेष आभार प्रकट गरेको छ । आगामी कार्यकालमा संघका अग्रज एवम् वरिष्ठ व्यक्तित्वहरूबाट प्राप्त सल्लाह, सुझाव, हौसला, प्रेरणा र मार्गदर्शनलाई पूर्ण रूपमा आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता समेत नवनेतृत्वले जनाएको छ ।

गत शनिबार सम्पन्न पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको थियो । नवनिर्वाचित टीम संघको मूल उद्देश्य प्राप्तिका लागि पूर्ण रूपमा समर्पित हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘हामी उद्योगी–व्यवसायीहरूको व्यावसायिक हकहित र संघका सम्पूर्ण सदस्यहरूको अधिकार संरक्षणका लागि सदैव समर्पित भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । आगामी दिनहरूमा समेत यहाँहरूको निरन्तर स्नेह, सहयोग, सुझाव तथा मार्गदर्शन प्राप्त भइरहने विश्वास लिएका छौँ,’ उनले भनेका छन् ।