काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डेले नेपालको वर्तमान अर्थतन्त्र अवसर र चुनौती दुवैको सङ्घारमा रहेको बताएका छन् ।
आज शनिबार नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) को पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले उद्योग तथा व्यवसाय क्षेत्रलाई सहज वातावरण आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले कानुनी तथा प्रशासनिक झन्झट हटाउँदै निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष पाण्डेले उद्योगी व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने धारणा राख्दै आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रसँग प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए । उनले बदलिँदो विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न डिजिटल इकोनोमीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याए ।
सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुन सके नेपालले द्रुत गतिमा आर्थिक विकास हासिल गर्न सक्ने उनको भनाइ थियो ।