काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरूभएको छ । आजको बैठकमा महासचिव, उपमहासचिव र सचिवहरूले धारणा राख्ने कार्यक्रम छ ।
शुक्रबार भएको बैठकमा बोल्ने पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए ।
बैठकमा बोल्ने पाँचजना उपाध्यक्षमध्ये चारजनाले ओलीको राजीनामा मागेका थिए । उनीहरूले स्पष्ट रूपमा पार्टीको नेतृत्व छोड्न आग्रह गरेका थिए ।
शुक्रबारको केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्षहरूले अध्यक्षको राजीनामा मागेपछि एजेन्डामाथि छलफल नै नभई स्थगित भएको थियो ।
बैठकको सुरुमा अध्यक्ष ओलीले विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको भन्दै नामै लिएर आरोप लगाएपछि उपाध्यक्ष रामबहादुर थापा बादलबाहेक विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले नेतृत्व हस्तान्तरणको विषय उठान गरेका थिए ।

अहिलेको अवस्थामा अध्यक्षले समयानुकूल, परिस्थिति बुझेर पार्टीलाई जोगाउनतिर लाग्नुपर्ने उनीहरूको भनाइ थियो ।


