काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई जना वडाध्यक्षलाई पदमुक्त गरेको छ ।
नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भएका मुसिकोट नगरपालिकाको वडा नम्बर–२ का वडाध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिकाको वडा नम्बर–३ का वडाध्यक्ष पदमबहादुर विष्टलाई पदमुक्त गरिएको आयोगले जनाएको हो ।
उनीहरूले दल परित्याग गरेपछि वडा अध्यक्षको पद रिक्त भएको छ ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपखफा (१) तथा नियमावली २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा पद रिक्त भएको जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले दुवै वडाध्यक्ष अन्य दलमा प्रवेश गरेको निर्णय निर्वाचन आयोगलाई दिएपछि आयोगले दुवै वडाध्यक्षको पद रिक्त रहेको जनाएको हो ।
