काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह बालनेको आइतबारको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, अपरिपक्व र राष्ट्रिय स्वाभिमानमाथिको आघात भएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीले आइतबार संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसप्रति कांग्रेसको औपचारिक असहमति रहेको बताए ।
उनले प्रधानमन्त्रीले आफ्नो भनाइको आधार स्पष्ट गर्नुपर्ने माग गर्दै नेपालले भारतको कुन भूभाग अतिक्रमण गरेको हो भन्ने विषयमा एक–एक इन्चको हिसाब दिनुपर्ने बताए । ‘यो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । भोलि भारतले हाम्रो भूमि फिर्ता माग्यो भने कुन भूभाग दिने हो ?,’ उनले भने ।
राईले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणप्रति पनि आपत्ति जनाए । मन्त्रालयले उक्त अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको जनाएको भन्दै उनले जमिन मिच्ने विषयलाई कसरी सीमापार बसोबास वा अतिक्रमणसँग जोड्न सकिन्छ भनेर प्रश्न गरे ।
कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्रीको भनाइले नेपालले भारतसँग सीमा विवादका विषयमा प्रस्तुत गर्दै आएको दाबीलाई कमजोर बनाउने तथा नेपाललाई समेत सीमा अतिक्रमणकारीका रूपमा चित्रित गर्ने जोखिम रहेको बताए । उनले प्रधानमन्त्रीले सस्तो लोकप्रियताका लागि तथ्यहीन र आत्मघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै संसद्को रोस्ट्रमबाटै जवाफ दिनुपर्ने माग गरे ।

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याएपछि मात्र सदन अघि बढ्ने उनले बताए । ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याइएन भने सदनमा अगाडि सहकार्य गर्न सकिँदैन,’ उनले भने ।

राईले सभामुखले पनि यस विषयमा रुलिङ नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय हितमाथि प्रश्न उठ्ने विषयमा सभामुख मौन बस्नु पदीय जिम्मेवारी र गरिमासँग सम्बन्धित विषय भएको बताए ।