सिन्धुली । आफूलाई प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिएर प्रहरी तथा अन्य व्यक्तिमाथि दबाब सिर्जना गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङले आफू सिन्धुली- १ को प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिई ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहार गरेको सूचना प्राप्त भएको थियो ।
उक्त सूचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । सिन्धुली प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।