काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।
जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको बताइएको छ ।
पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।
