काठमाडौं । एक समय नेपाली राजनीतिका सबैभन्दा शक्तिशाली र प्रभावशाली नेतामध्ये मानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै राजनीतिक यात्राको सबैभन्दा कठिन मोडमा उभिएका छन् ।
चार पटक प्रधानमन्त्री बनेका ओलीले लामो समयसम्म एमालेलाई आफ्नो बलियो राजनीतिक पकडमा राखे । तर, पछिल्लो निर्वाचनमा एमालेले भोगेको ऐतिहासिक पराजयसँगै पार्टीभित्र उनको नेतृत्वमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।
गत फागुनको निर्वाचनपछि एमालेभित्र आत्मसमीक्षा, सङ्गठन पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस सुरू भएको छ । पार्टीलाई नयाँ दिशा, नयाँ ऊर्जा र नयाँ नेतृत्व आवश्यक रहेको आवाज सचिवालयदेखि जिल्ला तहसम्म सुनिन थालेको छ । तर, पराजयपछि जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई पुनर्गठनको बाटोमा लैजानु पर्ने अपेक्षा गरिएका ओली भने अझै पुरानै शैली, पुरानै भाषा र पुरानै नेतृत्वको अडानमा देखिएका छन् ।
पार्टी सचिवालयका बहुमत सदस्यहरूले एमाले अहिलेकै ढाँचामा अगाडि बढ्न नसक्ने निष्कर्ष सार्वजनिक रूपमा राख्न थालेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले समेत अध्यक्ष ओलीकै उपस्थितिमा पार्टी पुनर्गठन अपरिहार्य भएको उद्घोष गरेका छन् ।
उनले भने, ‘हाम्रो पार्टीमा अहिले हामीले जसरी काम गर्दै आएका छौँ, यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौँ । पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ । सचिवालय बैठकले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने र पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदल निर्माण गरेको छ ।’

उपाध्यक्ष पौडेलको अभिव्यक्तिले एमालेभित्र बढ्दो असन्तुष्टि र परिवर्तनको मागलाई उजागर गरेको छ । पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको विश्लेषण भइरहेका बेला केपी ओलीलाई विश्राम दिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा बलियो बन्दै गएको हो ।

एमालेभित्र चलेको बहस अध्यक्ष परिवर्तनको मात्रै होइन । यो बहस पार्टीलाई कसरी पुनर्जीवित गर्ने भन्ने विषयमा केन्द्रित छ । तर, ओली त्यो बहस स्वीकार गर्न तयार देखिएका छैनन् । उनले आलोचनात्मक आवाजलाई अवसरवाद र अनुशासनविहीन गतिविधिको संज्ञा दिँदै आएका छन् । फरक मत राख्नेहरूलाई चेतावनी दिने र आलोचनालाई पार्टी विरोधी गतिविधिका रूपमा चित्रित गर्ने अध्यक्ष ओलीको प्रवृत्ति अझै कायम छ ।

तीन महिनापछि गुण्डुको खोपीबाट सार्वजनिक कार्यक्रममा देखिएका ओलीले बुधबार कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा सरकार, संवैधानिक निकाय र आफ्नै पार्टीका नेता कार्यकर्तामाथि आक्रोश पोखेका थिए । उनले पार्टी अप्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल नछाड्ने स्पष्ट सन्देश दिएका छन् ।
उनले भने, ‘मैले बिचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनेछु । त्यसका लागि पार्टीका आफ्नै विधान, विधि र प्रक्रिया छन् ।’
ओलीको यो अभिव्यक्तिलाई एमालेभित्र राम्रो मान्ने भन्दा नराम्रो मान्नेहरू धेरै देखिएका छन् । ओलीको यस्तो अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले पार्टीको महाधिवेशनको बन्द सत्रमा एक वरिष्ठ नेताले सुनाएको कथा स्मरण गरे । उनले बसभित्रको डन्डी समातेर आफूले बस पल्टिनबाट जोगाएको दाबी गर्ने एक वृद्धको कथा सुनाएको सम्झिए ।
यस्तो छ उपमहासचिव भट्टराईको भनाइ–
नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको (जनकपुर) बन्द सत्रमा पार्टीका एक जना वरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो– एक जना बुढा मानिस बसमा चढेछन् । सिट खाली थिए तर ऊनी सीटमा बसेनन् । उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए । बाटो उबडखावड थियो । बस गुड्न सुरू गर्यो । बस घरी दायाँ ढल्किन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँतिर जोडले तान्थे । फेरि बस बायाँ ढल्किन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे ।
यही रीतले बस अघि बढीरह्यो । बुढा मानिस सोही क्रिया गरिरहे । बुढा असिनपसिन भए । बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईँहरू सबै मेरो कारणले बच्नुभयो । यात्रुहरू छक्क परेर सोधे कसरी ? बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईँहरू बच्नुभयो । आज मलाई यो कथाको खुब सम्झना भयो ।
बालेन्द्र साह ‘बालेन’ नेतृत्वको सरकारले दोस्रो जनआन्दोलन पछि उच्च पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ । यो बीचमा चार पटक प्रधानमन्त्री बनेका ओलीको सम्पत्ति पनि छानबिनको दायरामा आउने पक्का छ । तर, यो विषयमा पनि ओली आक्रामक देखिएका छन् । उनले सरकारले गठन गरेको आयोगलाई अस्वीकार गर्दै आफ्नो सम्पत्ति विवरण नबुझाउने उद्घोष गरेका छन् । ‘अरू कसैले बयान दिए पनि म बयान दिन्नँ । सम्पत्ति विवरण पनि बुझाउँदिनँ,’ ओलीले भनेका छन्, ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? आगो लगाएर पुगेन ? खरानी छ, उठाएर लैजा सरकार ।’ आफ्नो सम्पत्ति नै खरानी भइसकेकाले कुनै विवरण बुझाइरहनु नपर्ने उनको तर्क छ ।
एमालेभित्र ओलीका यस्ता अभिव्यक्तिले पार्टीलाई झन् अप्ठ्यारोमा पार्ने चिन्ता बढ्न थालेको छ । एक सचिवालय सदस्यले कर्पोरेट खबरसँगको कुराकानीमा भने, ‘अब उहाँले खरानी बनाउन के बाँकी रह्यो र ? धेरै कुरा त सकिइसक्यो । अहिले पार्टी मात्रै बाँकी छ । यदि यही शैली, यही अहङ्कार र यही निर्णय प्रक्रिया कायम रह्यो भने बाँकी रहेको पार्टी पनि जोगाउन कठिन हुनेछ । तर हामी पार्टीलाई नयाँ ढङ्गबाट बचाउँछौँ । खरानी हुँन दिँदैनौँ ।’
पार्टीभित्र अहिले केपी ओलीलाई विगतदेखि साथ दिँदै आएका नेताहरू समेत पुनर्गठनको पक्षमा उभिन थालेका छन् । लामो समयसम्म ओलीका विश्वासपात्र मानिएका नेताहरूले समेत पुस्तान्तरण, सामूहिक नेतृत्व र नयाँ राजनीतिक संस्कारको आवश्यकता औँल्याउन थालेका छन् । सचिवालयमा समेत ओली अल्पमतमा परिसकेका छन् ।
एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘ओली बिनाको एमाले असम्भव भन्ने भाष्य निर्माण गरियो । नेतृत्वको गल्तीमाथि प्रश्न उठाउँदा पार्टीविरोधी भनियो । आज त्यसैको परिणाम पार्टीले भोगिरहेको छ ।’