काठमाडौं । नेपालमा पहिलो पटक जेडब्ल्यू म्यारियट ब्रान्डको लक्जरी होटल सञ्चालन हुने भएको छ।
एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएसँगै काठमाडौं भ्यालीमा जेडब्ल्यू म्यारियट होटल स्थापना गर्ने बाटो खुलेको हो।
सोमबार सम्पन्न सम्झौताअनुसार सन् २०३१ को प्रारम्भमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण हुने जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्यालीमा २२१ वटा विलासी अतिथि कक्ष रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू तथा अन्य सांस्कृतिक सम्पदास्थलहरूमा सहज पहुँच रहने जनाइएको छ।
होटलमा विभिन्न अन्तर्राष्ट्रियस्तरका भोजनालय, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, जेडब्ल्यू गार्डेन तथा १,६०० वर्ग मिटरभन्दा बढी क्षेत्रफलको कार्यक्रम तथा सभा स्थल रहनेछ। यस परियोजनाले नेपालको लक्जरी हस्पिटालिटी क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका सञ्चालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एशिया–प्यासिफिक (चीन बाहेक) का अध्यक्ष राज मेननले हस्ताक्षर गरेका थिए।

साथै, क्यापिटल होटलको तर्फबाट शशीकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलको तर्फबाट डेभिड म्यारियटबीच थप सम्झौता आदान–प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाको विशेष उपस्थिति रहेको थियो।

सम्झौतापछि बोल्दै गौरव अग्रवालले म्यारियटसँगको पुन: सहकार्य नेपालका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस साझेदारीमार्फत नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले नेपालका प्राकृतिक, सांस्कृतिक तथा आतिथ्य विशेषतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।

यो परियोजना क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीचको चौथो सहकार्य हो। जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्याली दक्षिण एशियामा म्यारियटको विस्तार हुँदै गएको लक्जरी होटल पोर्टफोलियोमा थपिने नयाँ गन्तव्य हुनेछ।
म्यारियट इन्टरनेसनल विश्वकै अग्रणी होटल समूहहरूमध्ये एक हो। सन् २०२६ मार्चसम्म कम्पनीका १४६ देश तथा क्षेत्रहरूमा ९,९०० भन्दा बढी होटल तथा आवासीय सम्पत्ति सञ्चालनमा रहेका छन्। नेपालमा जेडब्ल्यू म्यारियटको आगमनसँगै अन्तर्राष्ट्रियस्तरको विलासी आतिथ्य सेवा विस्तार हुनुका साथै पर्यटन र लगानी प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।