काठमाडौं। जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ।
कम्पनीले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा शनिबार आयोजित नेपथ्यको सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ मार्फत स्कुटर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार १५० सीसी क्षमताको उक्त स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। यसलाई नेपालकै पहिलो १५० सीसीको हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ।
स्कुटरको सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ बजार व्यवस्थापन प्रबन्धक करुणा पुडासैनीले संयुक्त रूपमा अनावरण गरेका थिए। कम्पनीका प्रमुख सञ्चालन अधिकृत मिश्रले नयाँ स्कुटरले नेपाली बजारमा शक्तिशाली प्रदर्शन क्षमता, आधुनिक प्रविधि, सुरक्षा र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्ने बताए। नेपाली ग्राहकलाई फरक र रोमाञ्चक सवारी अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ स्कुटर सार्वजनिक गरिएको उनको भनाइ थियो।
त्यस्तै, वरिष्ठ बजार व्यवस्थापन प्रबन्धक पुडासैनीले नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरी एनटर्क १५० बजारमा ल्याइएको बताइन्। दैनिक यात्रासँगै शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिको अनुभव लिन चाहने युवाका लागि स्कुटर उपयुक्त विकल्प हुने उनको भनाइ छ।

१४९.७ सीसी इन्जिन, १०४ किलोमिटर प्रतिघण्टासम्मको गति

नयाँ टीभीएस एनटर्क १५० मा १४९.७ सीसी क्षमताको तीन भल्भयुक्त इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले १३.२ पीएस शक्ति र १४.२ न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा लिन सक्छ।

यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको दाबी गरिएको छ। स्कुटरमा सवारीलाई सुरक्षित र सहज बनाउन ट्र्याक्सन कन्ट्रोल, एकल च्यानल एबीएस, सडक र रेस गरी दुई प्रकारका सवारी मोड, टीएफटी–एलसीडी प्रदर्शन प्रणाली तथा स्मार्ट जडान सुविधालगायत प्रविधि समावेश गरिएको छ।
टीभीएस एनटर्क १५० तीन रङमा उपलब्ध हुनेछ। स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु रङमा उपलब्ध स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
नेपथ्यको प्रस्तुतिसँगै स्कुटरको अनावरण
स्कुटर सार्वजनिक गरिएको कार्यक्रममा नेपाली लोक–रक सङ्गीत समूह नेपथ्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेको थियो। रमाइलो इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको उक्त कार्यक्रममा टीभीएस एनटर्क १५० शीर्ष प्रायोजकका रूपमा सहभागी भएको थियो।सङ्गीत, युवा पुस्ताको जीवनशैली र साहसिक यात्राको भावनालाई जोडेर स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभरका आधिकारिक विक्रेता तथा सेवा केन्द्रमार्फत मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले बिक्रीपछिको सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।