काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौं (एनसीआईसीके) ले आर्थिक वर्ष २०८३/८४ को बजेट, आर्थिक विधेयक तथा एमआरपीसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गत जेठ १५ गते सरकारले सार्वजनिक गरिएको बजेट र आर्थिक विधेयकका व्यवस्थाले निजी क्षेत्र, उद्योग तथा व्यापार व्यवसायमा पार्ने प्रभावबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सोमबार आयोजित कार्यक्रममा काठमाडौं भित्रका दुई सयभन्दा बढी उद्योगी, व्यवसायी तथा उद्यमीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहालले बजेटका विभिन्न पक्ष, आर्थिक विधेयकमा गरिएका नीतिगत सुधार, कर प्रणालीमा भएका परिवर्तन, भन्सार शुल्क, कर छुट तथा सहुलियतका व्यवस्थाबारे विस्तृत प्रस्तुति दिएका थिए । 
कार्यक्रममा सहभागी व्यवसायीहरूले बजेट सार्वजनिक भए लगत्तै प्रतिक्रिया दिने परम्परा रहे पनि पर्याप्त अध्ययन र विश्लेषण बिना धारणा बनाउँदा वास्तविक अवस्था बुझ्न कठिन हुने अनुभव सुनाएका थिए । त्यसैले बजेट सार्वजनिक भएको करिब १० दिनपछि विस्तृत अध्ययन सहित छलफल आयोजना गरिएको नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले जनाएको छ ।
करिब साढे दुई घण्टा चलेको कार्यक्रममा करका दरमा भएका हेरफेर, विभिन्न क्षेत्रलाई दिइएका छुट तथा सहुलियत, नयाँ कर व्यवस्थाका प्रभाव र व्यवसाय सञ्चालनमा त्यसले पार्ने असरबारे विस्तृत रूपमा चर्चा गरिएको थियो । प्रस्तुतीकरण पछि सहभागी व्यवसायीहरूले आफ्ना जिज्ञासा र चासोका विषयहरू पनि उठाएका थिए ।



व्यवसायीहरूले बजेटको प्रारम्भिक अध्ययन गर्दा केही विषयमा अन्योल र आशङ्का रहेको भए पनि विज्ञ मार्फत गरिएको विस्तृत व्याख्या र छलफलले धेरै विषय स्पष्ट भएको प्रतिक्रिया दिएका छन् । बजेटका प्रावधान, कर नीतिमा भएका परिवर्तन तथा आर्थिक विधेयकका व्यवस्थाबारे स्पष्ट जानकारी प्राप्त भएपछि निजी क्षेत्रको बुझाइ अझ सुदृढ भएको उनीहरूको भनाइ थियो ।

सङ्घले आगामी दिनमा पनि बजेट, कर नीति, आर्थिक सुधार तथा व्यावसायिक वातावरणसँग सम्बन्धित विषयमा यस्ता अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । निजी क्षेत्रलाई नीतिगत परिवर्तन बारे समयमै जानकारी गराउँदै व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको सङ्घले जनाएको छ ।