काठमाडौं । नेपाली कांग्रेसका सांसदले संसद्मा नै सहिदको सम्झनामा मौनधारण गरेका छन् ।
आजको प्रतिनिधिसभामा कांग्रेसका सचेतक निश्कल राईले पाँच मिनेट मौनधारण गर्ने जानकारी गराए ।
“यो देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापालगायत महान् योद्धाहरूको योगदानको कथा हामीले पढ्दै आएका छौँ,” उनले भने ।
मेयर हुँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने प्रधानमन्त्रीले पनि त्यो इतिहास पढ्नुभएकै होला भन्दै उनले व्यंग्य गरे ।
“आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि उहाँ धावा बोल्दै हुनुहुन्छ ? प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने त्यी अमर सहिदहरूको आत्मासम्मान कति गिरेको होला ?,” उनले भने ।
अमर सहिद, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका सहिद तथा सुशासन र जवाफदेहिताका लागि भएको भन्दै उनले भने, “जेनजी विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू पाँच मिनेट यहाँ उभिएर मौनधारण गर्ने छौँ ।” उनले भने । त्यसपछि सांसद उभिएर मौनधारण गरेका हुन् ।
