काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन’मा व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ उच्च तहको प्लाटिनम अवार्ड पाएको छ ।
बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी उल्लेखनीय पहलको लागि उक्त सम्मान प्रदान गरेको हो ।
इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ ।
यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्लाटिनम अवार्डबाट सम्मान प्राप्त गरेको हो ।
उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्याएको छ । साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउन योगदान पुगेको बैंकले जनाएको छ ।
‘यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता सुदृढ बनाएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ, ‘आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न प्रतिवद्ध छौं ।’
