काठमाडौं । टाइम्स हायर एजुकेसन (टीएचई) द्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस (जीएसडीसी) २०२६ का क्रममा जकार्तामा ग्लोकल प्रालि र टाइम्स हायरबीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । समझदारीपत्रमा ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एसिया–प्रशान्त (एपएसी) क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षासम्बन्धी विश्वव्यापी अनुभव र ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रमा रहेको अनुभवलाई एकीकृत गर्दै नेपाल तथा दक्षिण एयिाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याइनेछ ।
नेपालका विश्वविद्यालय र सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहिचान, प्रभाव मूल्यांकन तथा रणनीतिक विकासका क्षेत्रमा सहकार्य गरिने उल्लेख छ । साथै, विश्वस्तरीय अभ्यास, तथ्यांकमा आधारित निर्णय प्रक्रिया र संस्थागत सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ ।
यस पहलमार्फत नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्षमता, अनुसन्धानका अवसर तथा उत्कृष्ट अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ ।
साथै, नेपाललाई दक्षिण एसियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तरदेशीय शैक्षिक सहकार्यको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालले क्षेत्रीय तथा विश्वव्यापी शिक्षा प्रणालीमा आफ्नो भूमिका विस्तार गरिरहेको वर्तमान अवस्थामा यस सहकार्यले विश्वविद्यालय, नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

दुवै संस्थाले शिक्षा, अनुसन्धान, सीप विकास, रोजगारी, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर नेपालको उच्च शिक्षा क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रभावकारी र विश्वस्तरमा परिचित बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।