काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्य तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा समारोह आयोजना गरिएको हो।
वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले स्थापना गरेको नाडाले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमसहित ऐतिहासिक स्वर्ण उत्सव मनाउन थालेको हो।
स्वर्ण उत्सवलाई स्मरणीय बनाउन नाडाले दशरथ रंगशाला, त्रिपुरेश्वरदेखि होटल याक एण्ड यतिसम्म वाकाथन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्व, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस अवसरमा नाडाले संस्थाको नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरूलाई विशेष सम्मानसमेत गरेको छ। नाडाका अनुसार स्वर्ण उत्सवका कार्यक्रम आजदेखि १९ गतेसम्म सप्ताहव्यापी रूपमा काठमाडौंसहित सातै प्रदेशमा सञ्चालन हुनेछन्।

५० वर्षको यात्रामा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षहरूले संस्थाको नेतृत्व गरिसकेका छन्। यस अवधिमा नाडाले आफ्नो वार्षिक प्रकाशनअन्तर्गत ३६औँ संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री तथा ५१औँ संस्करणको नाडा अटो न्यूज प्रकाशित गरिसकेको छ। साथै १८औँ संस्करणको नाडा अटो ड्राइभ क्यालेन्डर प्रकाशित गरिसकेको संस्थाले आगामी भदौ महिनामा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारीसमेत गरेको जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका वस्तुगत संघहरूमध्ये उत्कृष्ट वस्तुगत संघको पुरस्कारबाट नाडा पटक–पटक सम्मानित हुँदै आएको छ। सन् २०१५ देखि नाडा का रूपमा स्थापित रहेको छ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रूपमा विभिन्न सामाजिक महत्वका कार्यक्रम सञ्चालन गर्नुका साथै प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका समयमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
स्वर्ण उत्सव समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नाडाका महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।
