भैरहवा । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासंघराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरे ।
शिलान्यास कार्यक्रममा भुटानी लामा गुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन गरेका थिए। गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।
भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताए। उनले भने, “लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौँ । यो परियोजनाले भुटानी बौद्ध परम्परा र संस्कृतिलाई बुद्धको जन्मभूमिसँग जोड्नेछ ।”
भुटान सरकार र लुम्बिनी विकास कोषबीच गत वर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार चालु वर्षभित्रै परियोजना सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए ।

परियोजनाको पहिलो चरणअन्तर्गत गुम्बा परिसरको सीमा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माणको काम सुरु गरिएको छ । भुटान सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको ओजीले बताए ।
प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला तथा सांस्कृतिक विशेषतालाई समेटिने बताइएको छ । भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन् ।
महानिर्देशक ओजीका अनुसार गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी भ्रमणमा आउने विश्वभरका बौद्ध तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।