काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बनेपछि आम मानिसमा राजनीतिक स्थिरता आउने, आर्थिक सुधारले गति लिने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव सेयर बजारमा देखिने अपेक्षा थियो ।
अर्थ मन्त्रालयको जिम्मेवारी अर्थशास्त्री डा. स्वर्णिम वाग्ले सम्हालेपछि, लगानीकर्तामा थप आशा पलाएको थियो । सुशासन, निजी क्षेत्र मैत्री नीति र आर्थिक सुधारका प्रतिबद्धताले सेयर बजारले नयाँ उचाइ बनाउने अनुमान गरिएको थियो । तर सरकार गठन भएको तीन महिनाको तथ्यांकले भने बालेन्द्र साह प्रति आम लगानीकर्ताको विश्वास कमजोर बनाएको देखिएको छ ।
गत चैत २३ गते प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ लिँदा नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) परिसूचक २,९५०.१६ अंकमा थियो । अहिले जेठ १४ गते सम्म आइपुग्दा नेप्से २,६४९.७६ अंकमा झरेको छ ।
अर्थात् बालेन साहले सरकारको नेतृत्व सम्हाले पछि अहिले सम्म झण्डै ३०१ अंकले बजार घटेको छ । यस अवधिमा बजार पुँजीकरणमा पनि ठूलो गिरावट आएको छ । सरकार गठन भएको दिन सेयर बजारको कुल बजार पुँजीकरण करिब ५० खर्ब ९ अर्ब रुपैयाँ थियो ।
अहिले त्यो घटेर ४५ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको छ । यस हिसाबले तीन महिनाको अवधिमा लगानीकर्ताको करिब ५ खर्ब ८ अर्ब रुपैंया भन्दा बढीको सम्पत्ति बजारबाट घटेको छ ।

सरकार गठनय भएयता ६२ वटा कारोबार भएका छन । कारोबार भएकामध्य जम्मा २३ दिन बजार बढेको छ भने, ३९ दिन बजार घटेर बन्द भएको छ । अर्थात् करिब ६३ प्रतिशत कारोबार दिन बजार राताम्मे बनेको छ ।
सरकारले बजेट सार्वजनिक गरेपछि बजारमा सुधार देखिने अर्का अपेक्षा थियो । तर गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेपछि बजार घट्ने क्रम थप बढेको छ । बजेट भाषण सार्वजनिक भएको दिन नेप्से २,७६६.७८ अंकमा थियो ।
त्यसयता बजार थप ११७ अंक भन्दा बढीले ओरालो लागेको छ । बजेट पछिका २० कारोबार दिनमध्ये १५ दिन बजार घटेको छ भने ५ दिन मात्रै बढेको छ । यसले बजेट प्रति बजारको प्रतिक्रिया नकरात्मक भएको संकेत गरेको छ ।
क्षेत्रगत सूचकहरू हेर्दा पनि अधिकांश क्षेत्रमा गिरावट देखिएको छ । चैत देखि हालसम्म उत्पादन मूलक समूहबाहेक सबै सूचक नकारात्मक बनेका छन् । तीन महिनाको अवधिमा अन्य समूह सबैभन्दा धेरै २०.०६ प्रतिशतले घटेको छ ।
त्यसपछि लगानी समूह १३.५७ प्रतिशत, विकास बैंक ११.५१ प्रतिशत र लघुवित्त समूह १०.१८ प्रतिशतले घटेका छन् । जेठ १५ यता भने फाइनान्स समूह बाहेक सबै क्षेत्र दबाबमा देखिएका छन ।
सरकार गठन हुँदा युवा नेतृत्व, दुई तिहाइको स्थिर सरकार र अर्थमन्त्रीको आर्थिक पृष्ठभूमिका कारण बजारमा ठूलो उत्साह देखिएको थियो । तर पछिल्ला तीन महिनाको अवस्थाले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ ।
बजारको निरन्तर गिरावटले सरकार प्रतिको अपेक्षा र वास्तविक परिणामबीच दूरी बढेको विश्लेषण हुन थालेको छ । पुँजीबजारका जानकारहरूले बजार घट्नुको थुप्रै कारणहरु केलाएका छन । सरकार गठनपछि राजनीतिक तथा व्यवसायिक व्यक्तिहरूमाथि पक्राउ र अनुसन्धानको क्रम बढ्नुले पनि लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरेको उनीहरूको भनाइ छ ।
आर्थिक अपराध वा अनियमितता माथि कारबाही आवश्यक छ । तर त्यसको प्रक्रिया पारदर्शी हुनुपर्नेमा सरकारले सुन्न भन्दा थुन्न हतारो गर्दाको परिणाम सेयर बजारमा देखिएको हुन सक्ने मानिएको छ । बजारले अनिश्चिततालाई भन्दा स्पष्ट नीतिलाई बढी रुचाउने भएकाले यस्ता घटनाले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको विश्लेषण गरिएको छ ।
अर्कोतर्फ बजेटले पनि अपेक्षित सन्देश दिन नसकेको जानकारहरुको बुझाई छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुधारका धेरै प्रतिबद्धता जनाए पनि बजेटमा तत्काल प्रभाव पार्ने खालका नीतिगत निर्णय नआएको भन्दै लगानीकर्ता निराश बनेका छन् ।
विशेषगरी पुँजीगत लाभकर सम्बन्धी व्यवस्थाले बजारलाई थप दबाब दिएको विश्लेषण गरिएको छ । व्यक्तिगत आयकरमा केही राहत दिइए पनि पुँजीबजारसँग सम्बन्धित कर नीतिमा आएको परिवर्तनले लगानीकर्ताको विश्वास डगमगाएको बताइएको छ ।
यससँगै अर्थतन्त्रमा सुस्तता, बजारमा लगानीको कमजोर वातावरण, धितोपत्र बोर्डको नयाँ नेतृत्वपछि बढ्न सक्ने आईपीओ आपूर्तिको मनोविज्ञान र संसदमा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकले पनि बजारमा असर पारेको जानकारहरूको भनाई छ ।
अहिले बैंकहरुसंग १४ खर्ब रुपैयाँ भन्दा बढीको तरलता रहेको छ । ऋणको माग कमजोर भएकाले नेपाल राष्ट्र बैंकले न्यून ब्याजदरमा बजारबाट पैसा प्रशोचन गरिरहेको छ । तर पर्याप्त तरलता हुँदाहुँदै पनि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन ।
पुँजीबजारका जानकारहरूले अहिले सबैभन्दा आवश्यक विषय भनेको लगानीकर्ताको विश्वास पुन:स्थापित गर्नु भएको बताएका छन । त्यसका लागि सरकारबाट स्पष्ट आर्थिक नीति, निजी क्षेत्रप्रति विश्वास जगाउने निर्णय र पुँजीबजारमैत्री सुधार आवश्यक रहेको उनीहरूको सुझाव छ ।
केहीले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न लगाइएका समय सीमासम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने धारणा पनि राखेका छन् । यद्यपि बजारका जानकारहरुले भने सेयर बजार सधैं एउटै दिशामा नचल्ने भन्दै तत्काल आत्तिन नहुने सुझाव पनि दिएका छन् । उनीहरूले बजारमा उतारचढाव स्वाभाविक प्रक्रिया भएको भन्दै लगानीकर्तालाई धैरै गर्न आग्रह गरेका छन ।
सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । त्यसैले बजारमा देखिएको कमजोर मनोबललाई सूचकको गिरावटका रूपमा मात्र नभई समग्र आर्थिक विश्वासको संकेतका रूपमा पनि हेरिएको छ ।
सरकारले सुशासनसँगै नीति स्पष्टता, निजी क्षेत्रसँग विश्वासको वातावरण र पुँजीबजार सुधारका ठोस कदम अघि बढाउन सके मात्रै लगानीकर्ताको आत्मविश्वास फर्कने अपेक्षा गरिएको छ ।