काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न सरकारी निकायका सवारीसाधन खरिद गर्न बजेट छुट्याएको छ।
यसमध्ये सबैभन्दा बढी बजेट नेपाली सेना र सुरक्षा निकायका लागि विनियोजन गरिएको छ। सवारीसाधन खरिदका लागि जंगी अड्डालाई सबैभन्दा बढी ९४ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसपछि सशस्त्र प्रहरी बलका लागि ५१ करोड ७५ लाख रुपैयाँ, सर्वोच्च अदालतका लागि ४० करोड ४८ लाख रुपैयाँ, सैनिक हवाई महानिर्देशनालयका लागि ३८ करोड १० लाख रुपैयाँ, प्रहरी प्रधान कार्यालयका लागि २९ करोड ५५ लाख रुपैयाँ, सूचना तथा सञ्चार मन्त्रालयका लागि १५ करोड रुपैयाँ तथा हुलाक सेवा विभागका लागि २ करोड ५४ लाख रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका लागि ७५ लाख रुपैयाँ, इलाका प्रशासन कार्यालयहरूका लागि ५७ लाख रुपैयाँ, हुलाक सेवा निर्देशनालयका लागि २५ लाख रुपैयाँ, जिल्ला हुलाक कार्यालयहरूका लागि २३ लाख रुपैयाँ र समरजंग कम्पनी कार्यालयका लागि ५ लाख रुपैयाँ सवारीसाधन खरिद शीर्षकमा विनियोजन गरिएको छ।
यसका अतिरिक्त, अर्थ मन्त्रालयले भैपरी आउने विकास कार्यक्रमअन्तर्गत सवारीसाधन खरिदका लागि २० करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ।