स्थानीय उत्पादनबाट विश्व बजारसम्म पुग्ने लक्ष्यमा पीजी सुज
कर्पोरट खबर
7:08 pm, मंगलबार, असार १६, २०८३
- पारागन फुटवेयर इन्डस्ट्रिज आफ्नो पीजी सुज ब्राण्डसहित स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ।
- कम्पनीले आयातित जुत्ताको विकल्पका रूपमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै तीन सयभन्दा बढीलाई रोजगारी दिएको छ।
काठमाडौं । नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इन्डस्ट्रिज आफ्नो पीजी सुज (पीजी जुत्ता) ब्राण्डसहित स्थापना भएको २८औँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयातित जुत्ताको विकल्पका रूपमा आफूलाई स्थापित गरेको बताएको छ।
२०५५ असार १७ गते स्थापना भएको कम्पनीले सुरुवातदेखि नै नेपाली सीप र श्रमको उपयोग गर्दै छालाका जुत्ता तथा छालाजन्य सामग्री उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ्गका अनुसार प्रारम्भिक चरणमा दैनिक १५–२० जोर जुत्ता उत्पादन गर्ने उद्योग अहिले आधुनिक प्रविधि र अत्याधुनिक मेसिनमार्फत देशव्यापी बजारका लागि उत्पादन गरिरहेको छ।
कम्पनीले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पार्टी, क्याजुअल, स्कुल, कलेज तथा स्पोट्र्स जुत्तासहित विभिन्न प्रकारका उत्पादन बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। चन्द्रागिरि नगरपालिका–९ मा रहेको उद्योगबाट उत्पादित जुत्ताले हाल देशभरका उपभोक्तासम्म पहुँच बनाएको कम्पनीको दाबी छ।
पारागन फुटवेयरले उद्योगदेखि शोरुमसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साढे तीन सयभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जनाएको छ। आगामी दिनमा आयातित जुत्ताको प्रतिस्थापन गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।
कम्पनीका मार्केटिङ प्रमुख राजेन्द्र तोलाङ्गले स्वदेशी उत्पादनको गुणस्तरमा उपभोक्ताको विश्वास बढ्दै गएको उल्लेख गर्दै अब पीजी सुजलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने तयारी भइरहेको बताए। उनका अनुसार परम्परागत सीप र आधुनिक प्रविधिको संयोजनमार्फत उत्पादन गरिएका जुत्ताले नेपाली उपभोक्ताको आवश्यकता, भौगोलिक अवस्था र क्रयशक्तिलाई ध्यानमा राखेका छन्।
कम्पनीले नेपाली जुत्ता गुणस्तर, डिजाइन र मूल्यका हिसाबले विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको दाबी गर्दै नयाँ प्रविधि, नवप्रवर्तन र निर्यातमुखी रणनीतिमार्फत स्वदेशी उद्योगलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।