काठमाडौं । पुँजी बजारमा पछिल्ला वर्षहरूमा आज सर्वसाधारण लगानीकर्ताको आकर्षण बढिरहेको छ। न्यून आय हुनेदेखि ठूला लगानीकर्ताका लागि पनि बजार लगानीको लागि उचित विकल्प बन्दै गएको छ।
प्रविधिको विकास, अनलाइन कारोबार प्रणाली र मेरो सेयरको सहज पहुँचले देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि सेयर बजारले जोडेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या ७९ लाख ७२ हजार २१९ पुगेको छ । यस्तै मेरो सेयर खाता खोल्नेको संख्या ७० लाख ५५ हजार ५७१ पुगेको छ । यस्तै ५१ लाख ९८ हजार ६९३ जना मेरो सेयरका सक्रिय प्रयोगकर्ता छन् ।
प्राथमिक बजारमा न्यून रकमबाटै लगानी सुरु गर्न सकिन्छ । दोस्रो बजारमा राम्रो कम्पनी छनोट गरेर दीर्घकालीन लगानी गर्दा पुँजी वृद्धि, बोनस सेयर र नगद लाभांश पाउन सकिन्छ ।
अहिले बैंकिंग क्षेत्रमा कर्जा प्रभाव न्यून छ । तरलता अधिक छ । जसको असर बैंकको नाफाका साथै सेयरधनीलाई दिने लाभांशमा समेत पर्छ ।
अहिले बैंकको निक्षेपभन्दा उच्च प्रतिफल पुँजी बजारबाट पाउन सकिने भएकाले लगानीकर्ताको ध्यान सेयर बजारमा छ । यद्यपी पछिल्लो समय भने बजारमा उल्लेख्य सुधार आउन सकेको छैन । बजारमा निरन्तर गिरावट आएको छ ।
विश्वका सफल लगानीकर्ता वारेन बफेट, पिटर लिन्च र राकेश झुनझुनवालाले पनि दोस्रो बजार मार्फत दीर्घकालीन लगानी गरेर ठूलो सम्पत्ति निर्माण गरेका उदाहरणहरू छन् ।
तर, दोस्रो बजार वास्तविक अर्थमा जोखिमको बजार पनि हो । सेयरको मूल्य माग र आपूर्ति, कम्पनीको वित्तीय अवस्था, लगानीकर्ताको मनोविज्ञान, ब्याजदर, बजेट, मौद्रिक नीति, नियामक निकायले लिने नीति, उच्च पदस्थहरुको अभिव्यक्ति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय आर्थिक घटनाक्रमबाट प्रभावित हुन्छ ।
बजार बढ्दा उच्च नाफा कमाउन सकिए पनि गलत समयमा गलत कम्पनीमा लगानी गर्दा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आउन पनि सक्छ ।
कतिपय लगानीकर्ता अध्ययन र विश्लेषणभन्दा सामाजिक सञ्जालका हल्ला, टिप्स, अनुमान र देखासिकीको भरमा लगानी गर्छन । यसले बजारमा बढी जोखिममा पर्ने गरेका छन् । कम्पनीको वित्तीय अवस्था, आम्दानी, लाभांश क्षमता, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, कम्पनीको निष्कृय कर्जा, कम्पनीले लगानी गरेका क्षेत्र र भविष्यको सम्भावना नहेरी गरिएको लगानीले धेरैलाई घाटा पुर्याउने गर्छ ।

बजारको सूचकांक मात्र हेरेर निर्णय गर्नु उचित मानिँदैन । किनकी सूचक बढ्दा पनि आफूले किनेको कम्पनीको मूल्य घट्न सक्छ । त्यसैले सेयर बजारका जानकारहरुले साना लगानीकर्ताहरुलाई बजारमा प्रवेश गर्नुअघि ज्ञान, धैर्यता र पुँजी व्यवस्थापनलाई प्राथमिकता दिएर मात्रै लगानी गर्न आग्रह गर्दै आएका छन ।
सेयर लगानीकर्ता अम्बिका पौडेल भन्छन, “बजार घट्नु र बढ्नु यसको स्वाभाविक नियम हो । सेयर बजार सधैं बढ्दैन, त्यसको गति र चक्रलाई बुझ्न सक्नुपर्छ । विशेषगरी साना लगानीकर्ताले हल्ला र देखासिकीका आधारमा होइन, कम्पनीको अवस्था अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ । ज्ञान, धैर्यता र जोखिम व्यवस्थापनबिना गरिएको लगानीले ठूलो नोक्सानी निम्त्याउन सक्छ ।”
नेपाली सेयर बजारमा सीमित समूहले कम पुँजी भएका कम्पनीमा कर्नरिङ, भित्री कारोबार, कृत्रिम मूल्य वृद्धि तथा पम्प एन्ड डम्प जस्ता अवैध गतिविधि गर्ने विषय पनि समय समयमा उठ्ने गरेका छन् । यस्ता गतिविधिबाट सर्वसाधारण लगानीकर्ता सबैभन्दा बढी प्रभावित हुन्छन् ।
बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि सेयर बजारलाई कर्नरिङ गरेको आरोपमा दीपक भट्टलाई पक्राउ गरेर धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनलाई दुई महिना भन्दा लामो समय देखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । केही अनुसन्धान सकिएको छ ।
भट्ट लगायतका बीचौलीया पक्राउ परेपछि नेपाली सेयर बजारमा तरंग पैदा भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले हिमालयन रि— इन्स्युरेन्स लगायतको सेयरलाई कसरी बढाउने र घटाउने गरेका थिए भन्ने देखिएको छ । उनी माथीको अनुसन्धान सकिएपछि यो विषय थप बाहिरिने छ ।
भट्टको पक्राउसंगै नेपालका ठूला लगानीकर्ताहरु, ब्रोकर कम्पनीहरुले पनि सेयर बजारलाई कार्टेलिङ गर्ने गरेको आशंका पैदा भएको छ । यद्यपी नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले भने, समिति मानिसको बैमानीलाई समग्र सेयर मार्केटसंग जोड्न नहुँने तर्क गर्छन । उनले गल्ती गर्नेहरुलाई कारबाही गर्दै सरकारले सेयर बजारलाई पारदर्शी बनाउँनु पर्ने विषयलाई जोड दिए ।
अध्यक्ष ढकाल भन्छन, “बजारमा केही खराब प्रवृत्ति छन् भन्ने कुरालाई नकार्न सकिँदैन । तर केही व्यक्तिको गलत गतिविधिका आधारमा समग्र सेयर बजारलाई दोष दिन मिल्दैन । बजारलाई विकृत बनाउने जोसुकै भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ । त्यससँगै सरकारले प्रभावकारी नियमन, पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने वातावरण निर्माण गर्न आवश्यक छ ।”
यसैबीच बजारलाई थप चलायमान बनाउन मार्जिन लोनको सीमा बढाउनुपर्ने आवाज पनि उठिरहेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि राष्ट्र बैंकको नीतिगत सीमाका कारण योग्य लगानीकर्ताले आवश्यक कर्जा पाउन नसकेको गुनासो छ । यसले बजारमा कारोबार र तरलता दुवै प्रभावित भएको व्यवसायीहरूको तर्क छ । यद्यपि, कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनलाई पनि समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
बजारलाई सुरक्षित र पारदर्शी बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जले नियमनलाई थप कडाइ गर्न आवश्यक रहेको जानकारहरुको भनाई छ । सूचीकृत कम्पनीलाई नियमित वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था, इन्साइडर ट्रेडिङ तथा बजार चलखेल माथिको निगरानी र डिजिटल राफसाफ प्रणालीलाई थप पारदर्शिता बनाउँन जानकारहरुले माग गरेका छन् ।
जानकारहरु सेयर बजारमा सफल हुन सही कम्पनी छनोट, दीर्घकालीन सोच, जोखिम व्यवस्थापन र नियमित अध्ययन अपरिहार्य रहेको बताउँछन् । बजारलाई छिटो धनी बन्ने माध्यम होइन, दीर्घकालीन सम्पत्ति निर्माण गर्ने साधनका रूपमा हेर्न सके मात्र अवसरको सही उपयोग गर्न सकिने जानकारहरुको सुझाव छ ।
अवसर र जोखिमबीच सन्तुलन कायम गर्दै प्रभावकारी नियमनलाई थप सुदृढ बनाउन सके नेपाली पुँजी बजार अर्थतन्त्रको दिगो विकासको महत्वपूर्ण आधार बन्न सक्ने विश्वास गरिएको छ ।